
दाङ,१२ असार । दाङको तुलसीपुरमा एनप्याब्सनले विद्यालयका सवारी चालकलाई ट्राफिक सचेतना दिइने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन, दाङ) को आयोजना तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा ट्राफिक सचेतना कार्यक्रम गर्न लागिएको हो।
आज बिहिवार तुलसीपुरको दोघरेमा एकदिने ट्राफिक सचेतना दिइन लागेको एनप्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले जानकारी दिए। दुर्घटना न्यूनीकरण गर्ने र विद्यार्थीहरूको गन्तव्य यात्रा सुरक्षित बनाउने उद्देश्यले विद्यालय सवारी चालकहरूलाई लक्षित गरी विशेष सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।
एनप्याब्सन दाङका अध्यक्ष न्यौपानेका अनुसार, विद्यालयका सवारी चालकहरूलाई यातायात सुरक्षाबारे जानकारी दिन तथा उनीहरूको जिम्मेवारीबोध गराउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। “सवारी चालकहरूको सर्तकता र जिम्मेवारीले विद्यार्थीहरूको सुरक्षामा ठूलो भूमिका खेल्ने भएकाले यस्तो कार्यक्रम आवश्यक देखिएको हो,” अध्यक्ष न्यौपानेले भने ।
कार्यक्रममार्फत सवारी नियम, प्राथमिक उपचार, आपतकालीन अवस्था व्यवस्थापन, र ट्राफिक सुरक्षासम्बन्धी विषयमा जानकारी दिने। साथै सवारी दुर्घटना न्यूनीकरणका उपाय, सडकरेखा तथा स्कुल बस निर्देशिका २०७४ लगाएतका विषयमा प्रशिक्षण गरिने छ । जसले गर्दा विद्यालय यातायातलाई थप सुरक्षित र भरपर्दो बनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको न्यौपानेको भनाई छ।



लाइभदाङ । १२ असार २०८२, बिहीबार ०६:२९ बजे