राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

तुलबहादुर कवँर मगर
मसुरिया, १० असार ।
दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

दोस्रो गाउँसभाको सातौं अधिवेशनको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रका केही बुँदाहरू संशोधनसहित मंगलबार सर्वसम्मतिले पारित भएको हो ।

अध्यक्ष विष्टले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रअन्तर्गत सामुदायिक विद्यालयहरूको शिक्षा गुणस्तर तथा पहुँच अभिवृद्धि गर्नका लागि विद्यालय व्यवस्थापन समितिलाई थप जवाफदेही र जिम्मेवार बनाई संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिकाबाट प्रदान हुँदै आएको शिक्षक अनुदान रकमलाई क्रमशः घटाउँदै लैजाने, गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूको अवस्थाको विश्लेषण गरी विद्यालय मर्जर९गाभ्ने०को नीति अवलम्बन गर्ने बुँदाहरू संशोधनसहित पारित गरिएको पालिकाका प्रवक्ता तथा वडा नं.२ का अध्यक्ष पहलमान चौधरीले जानकारी दिनुभयो ।


त्यसै सभाले आर्थिक वर्ष २०८१/८२ मा हालसम्म भएका कार्यपालिका बैठकका निर्णयहरू समेत अनुमोदन गरेको छ ।

गाउँपालिकाले असार ६ गते शिक्षा, स्वास्थ्य, कृषि र उद्यम विकासलाई विशेष प्राथमिकता दिदै पालिकालाई समावेशी, दिगो र समृद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।