बालमैत्री तुलसीपुर अभियानः सहभागिता र विकासमा जोड

तुलसीपुर, १९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउनका लागि सरोकारवालासंग छलफल गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको सहयोग तथा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुरको आयोजनामा आईतबार भएको छलफलमा बालबालिकाको सहभागिता र विकासमा केन्द्रित रहेर छलफल गरिएको थियो ।

त्यस क्रममा अझै पनि तुलसीपुरमा करिब ४ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेको अनुमान गरिएको छ । पछिल्लो समय विद्यालयको वातावरण,खानेपानी,शौचालय, फोहर ब्यबस्थापनमा भने केहीमा सुधार गर्नुपर्ने भएपनि अधिकांसमा प्रभाबकारी नै भएको छलफलका क्रममा निष्कर्ष निकालिएको छ । विद्यालयमा गएका विद्यार्थीहरुको दक्षता बृद्धिमा भने जोड दिनुपर्ने अबस्था रहेको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले बताए ।
उनले तुलसीपुरलाई २०८५ सालसम्म बालमैत्री नगर घोषणा गर्न सकिने बताए ।

महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले तुलसीपुरलाई बालमैत्री नगर घोषणाका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताईन । उनले बालमैत्री नगर निर्माणका लागि अहिले विभिन्न सरोकारवालासंग छलफल, समन्वय गरिरहेको समेत बताईन् ।

नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुरका अध्यक्ष नवराज लामीछानेले बालमैत्री नगरका लागि पूरा गर्नुपर्ने ५१ वटा सूचकमा बालबालिकाको अर्थपूर्ण सहभागीता हुनुपर्ने बताए । उनले बालमैत्री नगर बनाउनका लागि अहिले विभिन्न चरणमा छलफल र सुझाव संकलन गरिरहेको बताए ।


कार्यक्रममा प्रशिक्षक बालविज्ञ दुर्गालाल केसीले बालबालिको समग्र नेतृत्व अनि व्यक्ति विकासका लागि बालमैत्री स्थानीय शासन आवश्यक रहेको बताए । यस्तै एनप्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले विद्यालय क्षेत्रमा सूर्तीजन्य पदार्थ बिक्रिवितरण रोक्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझाले बालमैत्री नगर बनाउनका लागि विद्यालयको तर्फबाट गर्नुपर्ने आवश्यक सूचकहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नमुना शान्ति महिला संसदका सभामुख सीमा न्यौपानेले बालबालिकाको अधिकार सूनिश्चितताको लागि महिलाको प्रमुख भूमिका हुने बताए ।

कार्यक्रममा नगरस्तरिय बाल संजालका अध्यक्ष प्रशंशा केसी, मावि सेन्टरका बाल क्लव अध्यक्ष मनिषा वली, ज्ञानज्योतिका नारायण पोखरेलले बालबालिकाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण महासचिब नानीमैया केसीले गरेकी थिइन ।