
दीपक बोहरा
तुलसीपुर,२६ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको तिनदिन हवाई उडान हुने भएको छ । नेपाल वायुसेवा निगमका तुलसीपुर प्रमुख बलबहादुर सुनारका अनुसार सोमबार, बुधबार र शुक्रबार उडान हुने भएको हो । यस अघि हप्तामा एक दिन मात्रै उडान हुने गथ्र्यो । अब भने नेपाल एयरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको हो ।
हालको भाडा न्यूनतम सातहजार एकसय रुपैँया छ । त्यो सुरुमा टिकेट काट्नेहरुलाई निश्चित कोटा भएपनि यात्रुहरु थपिदै जाँदा ८ हजार ९ सय ७५ सम्म हुने गरेको प्रमुख सुनारले बताए । यो दाङबाट काठमाडौं जाँदाको भाडा हो । काठमाडौंबाट दाङ आउँदा भने त्यो भाडा भन्दा दुई सय बढि हुन्छ ।
हाल यात्रुहरुको चाप बढेकाले उठान थप गरिएको प्रमुख सुनारको भनाई छ । उनका अनुसार काठमाडौंबाट आउँदा सबै सिट भरिने गरेका छन्, भने दाङबाट जाँदा पनि दैनिक १० भन्दा बढि जाने गरेका छन् । अब हप्तामा तीन दिन हुँदा थप सहज हुँने उनको भनाई छ ।



काठमाडौंबाट दाङ १० बजेदेखि १२ बजेकोबीचमा आईपुग्छ ।“फस्ट फ्लाईट पूर्व हुने गर्छ, पूर्वतिर मौसम राम्रै भए, यहाँ १० बजे पनि आईपुग्छ”,उनले भने “मौसम अलि गडबड भए ११, १२ बजेसम्म आउछ ।” काठमाडौंबाट दोस्रो फ्लाईट दाङ आउने गर्छ । टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानु पर्ने अबस्था थियो । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन् । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो ।
लाइभदाङ । २६ बैशाख २०८२, शुक्रबार २०:५४ बजे