फरार कैदी कहाँ पुगे भन्ने थाहा पाउन टे«सिङ हुँदै

दाङ
११ पुस / दाङको घोराही कारागारका कैदी भागेको तीन दिन वित्दा पनि भेटाउन फेला पार्न सकिएको छैन । जिल्ला प्रहरी कार्यालय दाङलगायत अन्य अनुसन्धान गर्ने निकायहरुले खोजी गरिरहेका छन् । सोही क्रममा शुक्रबार लमहीको मुसोट स्थित बेलदमारको जंगलमा उनी भाग्न प्रयोग गरेको मोटरसाईकल फेला परेको थियो ।

तर, मान्छे भने अझै फेला पार्न सकिएको छैन । अब मान्छे कहाँ पुगेको छ, भनेर ट्रेसिङ गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।‘मान्छे कहाँ पुग्यो भनेर थाहा पाउनकालागि ट्रेसिङ हुँदैछ’,उनले भने‘ढिलो चाँडो हामीले उनलाई पक्राउ गरेरै छोड्छौं ।’ उनलाई भगाउन सहयोग गरेको भन्दै एक जना प्रहरी जवानसहित ६ जनालाई पक्राउ गरिसकेको उनले बताए । उनीहरुलाई पनि सीसीटिभि र कल डिटेलका आधारमा प्रमाणसहित पक्राउ गरिएको उनले बताए ।

जेलर र सुरक्षा प्रमुखलाई तानियो
कैदीका नाईके ३२ बर्षीय यमराज परियार भागेपछि घोराही कारागारका जेलर र सुरक्षा प्रमुखलाई तानिएको छ । कर्तव्य ज्यान मुुद्दामा जन्मकैद सजाय पाएका परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको भन्दै कारागारका जेलर युुवराज परियारलाई जिल्ला प्रशासन कार्यालय तानिएको छ, भने सुरक्षा प्रमुुख, प्रहरी निरीक्षक रुद्रबहादुर सेनठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको हो ।


छालाको उपचार गर्न भनि कैदी परियारलाई प्रहरी जवानको मोटरसाईकलमा राखिएपनि अस्पताल नपुगेर सिधै घोराहीको थकाली होटेलमा गएको प्रहरीले बताएको छ । जवानको लु ३४ प ४१० नम्बरको मोटरसाईकल लिएर गएका थिए । उनी कुनै पनि विरामी नभएको भन्दै नियोजित तरिकाले भगाईएको प्रहरीको निष्कर्ष छ ।

विहीबार विहान ११ बजे घटना भएपनि साँझ ४ बजेमात्रै जानकारी आएको भन्दै यसमा पनि शंका रहेको प्रहरीले बताएको छ । २० बर्ष जेल सजाय तोकिएका परियारले ७ बर्ष कैद भुक्तान गरिसकेका थिए । परियारले आफ्नी प्रेमिकाको हत्या गरेको भन्दै कैद सजाय सुनाईएको थियो ।