
तुल बहादुर कवँर मगर
मसुरिया, २३ बैशाख।
दाङको राप्ती गाउँपालिकाले बैशाख २४ गते अर्थात भोलि बुधबार वडा नम्बर ३ स्थित बसन्तापुरमा एकदिने एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ।
गाउँपालिका तथा वडा कार्यालयसम्म सेवा लिन आउन नसक्ने नागरिकलाई लक्षित गरी उक्त शिविर सञ्चालन गर्न लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिनुभयो।
उहाँका अनुसार विशेष गरी वृद्ध, अशक्त, अपांगता भएका व्यक्ति तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकले सहज रूपमा सेवा पाउन सकून् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो।
एकीकृत घुम्ती सेवा शिविरमार्फत नागरिकले विभिन्न सरकारी सेवा एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन्। शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा सल्लाह, पशुपन्छी तथा मत्स्य विकास, सामाजिक सुरक्षा तथा पञ्जिकरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा, कृषि परामर्श, व्यवसाय दर्ता तथा नवीकरणलगायतका सेवा उपलब्ध हुनेछन्।
यसका साथै, स्थानीय समस्या, गुनासा तथा सुझावहरू संकलन गरी आगामी योजना निर्माणमा उपयोग गरिने जानकारी पनि पालिकाले दिएको छ।
राप्ती गाउँपालिकाले हरेक वर्ष विभिन्न वडामा यस्ता घुम्ती सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ। सेवा प्रवाहलाई थप प्रभावकारी, समावेशी र पहुँचयोग्य बनाउने उद्देश्यले यसपटक पनि शिविर सञ्चालन गर्न लागिएको हो।
पालिकाका अनुसार यस्ता शिविरले ग्रामीण भेगमा बसोबास गर्ने नागरिकको सेवा पहुँचमा सुधार ल्याउनुका साथै पालिका र जनताबीचको सम्बन्ध मजबुत बनाउने लक्ष्य लिएको छ। स्थानीय तहका सेवा जनताको घरदैलोमा पुर्याउनु नै यस्ता कार्यक्रमको मुख्य उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ।
पालिकाले सबै स्थानीयवासीलाई उक्त शिविरमा सहभागी भई आफूलाई आवश्यक सेवा लिन आह्वान समेत गरेको छ।




लाइभदाङ । २३ बैशाख २०८२, मंगलवार १२:३१ बजे