
तुलसीपुर, ४ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ विमानस्थलमा अब प्रत्येक बुधबार जहाज आउने भएको छ । यस अघि १९ चैतमा टरिगाउँ विमानस्थलमा जहाज बसेको थियो । त्यसयता जहाज नियमित बस्न सकेको थिएन। एक जना पनि यात्रु नहुँदा बीच–बीचमा नियमित हुन नसकेपनि अब भने प्रत्येक बुधबार नियमित रुपमा जहाज उड्ने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो ।
हालको भाडा न्यूनतम ७ हजार १ सय मात्रै कायम गरिएको छ । खास भाडा ८ हजार ७ सय ७५ रुपैँया भएपनि हाललाई ७ हजार एक सय मात्रै कायम गरिएको छ ।
टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानु पर्ने अबस्था छ । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्दा पनि अनियमित हुने हुँदा यात्रुहरु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अबस्था रहेको छ ।
हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ४ बैशाख २०८२, बिहीबार ०८:५१ बजे