
लमही, २७ चैत । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेवले समाजवादी क्रान्ति अबको पार्टीको मुख्य कार्यभार भएको बताउनुभएको छ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको पूर्ण बैठकलाई लमहीमा सम्बोधन गर्दै उहाँले हिजो जनवादी क्रान्तिको नेतृत्व माओवादीले गरेकाले अब समाजवादी क्रान्तिको थालनी गर्ने दायित्व पनि माओवादीकै भएकाले यसमा बहस केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभयो।
अब समाजवादी क्रान्तिको गफ गरेर मात्र नपुग्ने र आधारभूत तहदेखि नै समाजवाद निर्माणको थालनी कसरी भन्ने बहसमा केन्द्रित हुनुपर्ने बेला आएको उहाँले स्पष्ट गर्नुभयो। अन्य दलका लागि समाजवादी क्रान्ति प्राथमिकतामा नरहेकाले यसको नेतृत्व माओवादी केन्द्रले नै गर्नुपर्ने उहाँले बताउनुभयो।
सचिव खनालले समाजवादी क्रान्तिको नेतृत्व गर्न माओवादीलाई बलियो बनाउनुपर्ने र यसमा युवाहरूलाई धेरै भन्दा धेरै गोलबन्द गर्ने गरी पार्टी संगठन निर्माणको बिधि विकास गर्नुपर्ने बताउनुभयो। उहाँले पार्टीले सुरु गरेको जनतासँग माओवादी अभियानले पार्टी संगठन र जनतासँगको सम्बन्ध सुदृढीकरणमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। अहिले सरकारमा नजाने र आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने पार्टी नीति रहेको स्पष्ट गर्दै उहाँले यसको तयारीमा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो।
जिल्ला संयोजक हरिमान पुन बरुणको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्य जगप्रसाद शर्मा, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज निर्मल आचार्य, केन्द्रीय सदस्यहरु हेमराज शर्मा, दामा शर्मा, नारायणी शर्मा, भीमकुमारी बुढा, केन्द्रीय सल्लाहकार शुष्मा शर्मा घिमिरे, वैकल्पिक केन्द्रीय सदस्यहरु, केन्द्रीय विभाग सदस्यहरु, जिल्लामा कार्यरत प्रदेशका पदाधिकारी तथा सदस्य, जिल्ला समन्वय समितिका सदस्य तथा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुको सहभागिता रहेको छ।
बैठकले नेताहरुको कार्य विभाजन, विभाग विस्तार तथा जनतासँग माओवादी अभियानको कार्यक्रम तय स्पष्ट गर्ने जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो।



लाइभदाङ । २७ चैत्र २०८१, बुधबार १४:३० बजे