काठमाडौं, १७ चैत ।
सत्ता गठबन्धनमा दलहरूले पाउने मन्त्रालय संख्याबारे सहमति जुटिसकेको छ। कुन मन्त्रालय कुन दलले लिने भन्नेमा दलहरू लगभग सहमतिमा पुगेका छन्।
नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमत पार्टीले १ मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक/एक मन्त्रालय पाउने सहमति बुधबार नै भएको थियो।
त्यही अनुरूप कांग्रेसले ८ जनाको नाम लगभग टुंग्याएको हो। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश रिजाल, धनराज गुरूङ, एनपी साउद, सीता गुरूङ, डिगबहादुर लिम्बू, प्रकाशशरण महत र मोहनबहादुर बस्नेत मन्त्री बन्ने भएका छन्।
धनराज गुरूङ सामान्य प्रशासन मन्त्री, एनपी साउद सहरी विकास मन्त्री, सीता गुरूङ भूमि व्यवस्था मन्त्री, डिगबहादुर लिम्बू न्याय, कानून तथा संसदीय मामिला मन्त्री, प्रकाशशरण महत अर्थमन्त्री र मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने कांग्रेसको तयारी रहेको एक नेताले जानकारी दिए।
खड्का र रिजालको मन्त्रालय भने टुंगिसकेको छैन। उपसभापति खड्काले मन्त्री हुनेहरूको नाम पार्टीका तर्फबाट औपचारिक रूपमा टुंगो लागिनसकेको बताएका छन्।
अरू दलले भने मन्त्री बन्नेको नाम टुंग्याइसकेका छैनन्। जनता समाजवादी पार्टीले शिक्षा र वन मन्त्रालय पाउने भएको छ।
जनमतले उद्योग मन्त्रालय पाउने भएको छ। नेकपा एसको भने भौतिकबाहेक मन्त्रालय टुंगिएको छैन। एसबाट वेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्दै छन्। संख्या तय भए पनि मन्त्रालय फरक पर्न सक्ने प्रधानमन्त्री सचिवालयको भनाइ छ।
लाइभदाङ । १७ चैत्र २०७९, शुक्रबार ०८:०७ बजे