
आजाद खड्का
१. ८ मार्चको ऐतिहासिक विद्रोह र आजको सन्दर्भ
८ मार्च कुनै औपचारिक उत्सव होइन, यो श्रमिक महिलाहरूले आफूमाथि थोपरिएको दोहोरो शोषण, अपमान र दासत्वविरुद्ध उठाएको ऐतिहासिक विद्रोह हो । सन् १९०८ मा अमेरिकी कपडा उद्योगका महिलाहरूले श्रमशोषण र न्यून ज्यालाविरुद्ध हडताल गर्दा उठेको स्वरले नै ८ मार्चलाई विद्रोहको प्रतीक बनायो । ती महिलाहरूले उठाएका मुद्दाहरू आज पनि जीवित छन्, किनकि पितृसत्तात्मक समाज र पूँजीवादी शोषणको चक्रव्यूह अझै अन्त्य भएको छैन ।
आज पनि ८ मार्चलाई पूँजीवादी सत्ता र पितृसत्ताले ’महिला सम्मान दिवस’ भन्दै फुलमाला, औपचारिक भाषण र सामाजिक सञ्जालका पोस्टहरूमा सीमित गर्न खोजिरहेका छन् । तर वास्तविकता त्यो होइन । श्रमिक महिलाहरू घरेलु गुलामीकरण, सम्पत्तिबाट वञ्चितिकरण, श्रम बजारमा दोहोरो शोषण र राजनीतिक अस्पृश्यताको चक्रमा कैद छन् । ८ मार्च आज पनि उनीहरूको मुक्तिको घोषणा हो, विद्रोहको प्रतिबद्धता हो ।
२. पितृसत्ताको अँध्यारो जेलखाना र श्रमिक महिलाको जीवन
श्रमिक महिलाहरू तीन तहका जेलमा बाँधिएका छन् —
• पहिलो, पितृसत्ताले घरेलु श्रममा बाँधेर महिलालाई अदृश्य श्रमिक बनाउँछ ।
• दोस्रो, सम्पत्तिमा हकविहीन बनाइ महिलालाई आर्थिक पराधीन बनाउँछ ।
• तेस्रो, श्रम बजारमा लैङ्गिक विभेद, कम ज्याला र यौन शोषणको शिकार बनाउँछ ।
घरभित्र महिलाको श्रमलाई ‘माया’को लेप लगाएर अदृश्य बनाइन्छ। खाना पकाउने, बच्चा हुर्काउने, परिवार सम्हाल्ने श्रम बिना उत्पादन सम्भव हुँदैन, तर पूँजीवादले त्यसलाई श्रमकै रूपमा मान्दैन । पितृसत्ताले महिलाको श्रमलाई घरभित्र कैद गर्छ, पूँजीवादले महिलालाई सस्तो श्रमशक्तिको रूपमा प्रयोग गर्छ ।
३. सम्पत्तिमा वञ्चित, आर्थिक रूपमा पराधीन
पैतृक सम्पत्तिमा छोरा मात्रै हकदार हुने संस्कारले महिलालाई जन्मदेखि नै दोस्रो दर्जाको नागरिक बनाउँछ ।
• छोरी घरको पाहुना, छोरा वंशको धरोहर भन्ने संस्कारले महिलालाई परिवारभित्रै परायाजस्तो बनाउँछ ।
• आर्थिक स्वतन्त्रता विना महिलाले राजनीतिक र सामाजिक अधिकार समेत उपयोग गर्न सक्दिनन् ।
सम्पत्तिबाट वञ्चित महिला श्रमिकहरू श्रम बेचेर बाँच्न बाध्य हुन्छन् । तर त्यहाँ पनि उनीहरूलाई कम ज्याला, अनिश्चित रोजगार र यौन हिंसाको सिकार बनाइन्छ ।
४. श्रम बजारमा दोहोरो शोषण र महिलामाथिको आर्थिक लुट
औपचारिक श्रम बजारमा प्रवेश पाए पनि श्रमिक महिलाहरू दोहोरो शोषणमा परेका छन् —
• कम ज्याला, असुरक्षित कार्यस्थल, यौन शोषण र सामाजिक अपमान उनीहरूको दैनिकी बनेको छ ।
• घर फर्केपछि उनीहरूलाई दोस्रो पालीको श्रम — घरको काम, बच्चा पालन र हेरचाहको जिम्मेवारी पूरा गर्न बाध्य पारिन्छ ।
लैङ्गिक श्रम विभाजन पूँजीवादी उत्पादन सम्बन्धको आधार हो ।
• उत्पादनका लागि आवश्यक सस्तो श्रम महिलाबाट प्राप्त हुन्छ ।
• श्रमिक पुरुषको पुनःउत्पादनका लागि आवश्यक घरेलु श्रम महिलाबाट निःशुल्क लिइन्छ ।
५. पितृसत्ता र पूँजीवादः ऐतिहासिक साठगाँठ
पितृसत्ता र पूँजीवादबीच गहिरो ऐतिहासिक साठगाँठ छ ।
• पूँजीवादलाई सस्तो श्रमशक्ति चाहिन्छ, पितृसत्ताले महिलालाई घरेलु दासी र सस्तो श्रममा सीमित गर्छ ।
•पूँजीवादले श्रमिक पुरुषको श्रमशक्ति उत्पादन गर्ने काम महिलालाई निःशुल्क थोपर्छ ।
त्यसैले महिलामुक्ति पितृसत्ता र पूँजीविरोधी संघर्षसँगै जोडिएको छ। पितृसत्ता मात्र खारेज गरेर महिलामुक्ति सम्भव छैन, जबसम्म पूँजीवादी उत्पादन सम्बन्ध खारेज हुँदैन ।
६. नारिवादको सीमा र वर्गीय दृष्टिकोणको आवश्यकता
नारिवादले महिलालाई केवल लिङ्गीय शोषणको सिकारका रूपमा हेर्छ, तर श्रमिक महिलाको वर्गीय शोषणलाई बेवास्ता गर्छ ।
• पूँजीवादी नारिवादले उत्पादन सम्बन्धमा महिलाको स्थानलाई गौण बनाउँछ ।
• सम्पत्तिमा बराबरी स्वामित्व, उत्पादनमा बराबरी पहुँच र श्रमको मूल्य निर्धारणविना महिलामुक्ति सम्भव छैन ।
महिलामुक्ति भनेको —
• पितृसत्ताको अन्त्य,
• उत्पादनका साधनमाथि श्रमिक महिलाहरूको स्वामित्व,
• श्रमको समान मूल्य र
• राजनीतिक सत्ता संरचनाको पुनःसंरचनासँग गाँसिएको छ ।
७. महिला मुक्ति, वर्ग मुक्ति र समाजवादी विकल्प
श्रमिक महिलाको मुक्तिको प्रश्न पूँजीवादविरोधी वर्गसंघर्षसँग अभिन्न रूपमा जोडिएको छ ।
• पूँजीवादले महिलालाई उपभोग्य वस्तु, सस्तो श्रमशक्ति र यौनशोषणको माध्यम बनाउँछ ।
• पितृसत्ताले महिलालाई घरेलु दासी, सम्पत्तिबाट वञ्चित नागरिक र दोस्रो दर्जाको श्रमशक्ति बनाउँछ ।
• जातीय व्यवस्था थपेर यो शोषणलाई जातीय संरचनासँग गाँसेर थप जटिल बनाइन्छ ।
त्यसैले महिलामुक्ति भनेको —
• वर्ग संघर्ष,
• पितृसत्ता विरोधी संघर्ष र
• जातीय उत्पीडनविरोधी संघर्षको संयुक्त स्वरूप हो ।
८. समाजवादी समाजः महिलामुक्तिको वैज्ञानिक आधार
महिलामुक्ति समाजवादको आधारभूत सर्त हो। समाजवादी व्यवस्था बिना महिलामाथिको शोषण अन्त्य हुन सक्दैन ।
• उत्पादनका साधनमाथि श्रमिक महिलाहरूको समान स्वामित्व,
• श्रममा समान मूल्य र अवसर,
• घरेलु श्रमको सामूहिकीकरण,
• हेरचाह र सन्तान पालनको सामाजिकरण,
• समान ज्याला र श्रम अधिकारको ग्यारेन्टी,
• लैङ्गिक हिंसा उन्मूलनका लागि संरचनागत रूपान्तरण समाजवादी राज्यको आधारभूत कार्यभार हो ।
समाजवादमा महिलाहरू दया वा संरक्षणको विषय होइनन्, सत्ताका निर्णायक हिस्सा हुन्छन् ।
९. ८ मार्चः विद्रोहको प्रतिबद्धता र क्रान्तिकारी शपथ
८ मार्च कुनै औपचारिक दिवस होइन। यो श्रमिक महिलाहरूका लागि वर्गीय शोषण, लैङ्गिक उत्पीडन र पितृसत्तात्मक दासत्वविरुद्ध उठ्ने प्रतिबद्धता दोहोर्याउने दिन हो ।
८ मार्चको सन्देशः
• महिलामुक्ति समाजवादी क्रान्तिबिना सम्भव छैन ।
• श्रमिक महिलाहरू पितृसत्ताका सिकार मात्र होइनन्, पूँजीवादविरोधी आन्दोलनको निर्णायक शक्ति हुन् ।
• जातीय उत्पीडन, पितृसत्ता र पूँजीवादविरोधी संयुक्त आन्दोलन नै महिलामुक्तिको मार्ग हो।
८ मार्चको शपथः श्रमिक महिला मुक्ति बिना समाजवादी क्रान्ति अधुरो छ ।



लाइभदाङ । २४ फाल्गुन २०८१, शनिबार ०८:२५ बजे