
दीपक बोहरा
दाङ, २३ फाल्गुन ।
पछिल्लो समय धेरै चर्चा हुने एउटा उपमहानगरपालिका हो–तुलसीपुर । यहाँ हुने हरेक गतिविधि चर्चामा आउने गर्छन् । पछिल्लो पटक तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी आएपछि सुरुवातदेखि नै चर्चा सुरु भयो । प्रमुख प्रशासकीय अधिकृत डाँगीको स्वभावजन्य कुराले पनि बढि चर्चा परिचर्चा हुन्थ्यो । ठाउँ–ठाउँमा प्रशासनमा कडाई गर्दा स्वयं आफैलाई पनि अफ्ट्यारो पर्ने गर्थ्यो । तर,त्यो स्वभावजन्य कुराले तुलसीपुरमा पनि अछुतो राख्न सकेन ।
तुलसीपुर उपमहानगरपालिकामा लामो समय एउटै शाखामा कार्यरत कर्मचारीहरुलाई अन्य शाखामा सरुवा गरेपछि कर्मचारीहरुमा हलचल नै ल्यायो । जसबाट सुरुवातमै प्रमुख प्रशासकीय अधिकृत डाँगी कर्मचारीकै घेराबन्दीमा परे । त्यो घेराबन्दी अहिलेसम्म पनि छ । उनले कर्मचारीलाई सन्तुलन मिलाउन नसक्नु उनको कमजोरी रहेको उपहानगरपालिकाका एक शाखा प्रमुखले बताए । “कर्मचारीलाई एउटा शाखाबाट अर्को शाखामा सरुवा गर्ने कुरा ठूलो होईन्, किनभने देशब्यापी कर्मचारी त सरुवा हुन्छन्, एउटा पालिका भित्र एउटा शाखाबाट अर्को शाखामा सरुवा गर्ने कुरा ठूलो कुरा थिएन”,ति कर्मचारीले नाम नबताउने सर्तमा भने “तर, कर्मचारीमा भावनात्मक रुपमा सन्तुलन मिलाउन नसक्दा राम्रो गर्नै खोज्दा पनि घेराबन्दीमा पर्नुभयो ।” व्यक्तीगत स्वभावले पनि धेरै कुरा असर गर्ने एउटा उदाहरण यो रहेको उनको भनाई छ ।
सफ्टवेर खरिदमा पनि उनी विवादमा तानिए । आर्थिक वर्षको अन्तिममा सफ्टवेयर तथा सामग्री गर्दा विवाद उत्पन्न भएको थियो । त्यो कुराको उजुरी अख्तियारसम्म पनि परेको थियो । यद्यपी अख्तियारले भने त्यो कुराको सफाई दिएको छ ।
त्यति मात्रै होईन्, कर्मचारीहरुले कार्यालयको काम नै ठप्प पारेर ताला लगाउने सम्मको अवस्था पनि बन्यो । तुलसीपुर उपमहानगरपालिकाको यस अघिको कार्यकालमा कार्यविधि बनाएर तुलसीपुर उपमहानगरपालिकाका कर्मचारीहरुलाई बढुवा गरिएको थियो । तर, त्यसमा प्रदेश लोकसेवा आयोगले उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेपछि बढुवा कार्यान्वयन नगर्न निर्देशन गरेको थियो । त्यति मात्रै होईन्, महालेखा परीक्षणको कार्यालयले बढुवा भएका कर्मचारीले खाएको तलबमा बेरुजु देखाएको थियो, भने अख्तियारले पनि बढुवा भए बराबरको तलब किन खुवाएको ? भन्दै प्रश्न गरिरहेको थियो ।
त्यसपछि कार्यपालिका बैठकले हाल कायम रहेकै पदको तलब खुवाउने र विगतको निर्णय अनुसार बढुवा कार्यान्वन अनुसार नभई त्यसमा घटुवा गरेपछि कर्मचारीहरुले केही दिन कामकाज नै ठप्प पारेको थियो । त्यो विरोध पनि पुनः बढुवा नै कायम गर्ने सहमति भएको थियो । उच्च अदालतको फैसला चित्त नबुझेकाले कर्मचारीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यसको फैसला नआउँदासम्म कायम राख्ने कुराको सहमति भएपछि कर्मचारीहरू काममा फर्किएका थिए ।
कर्मचारी मात्रै होईन्, सेवाग्राही समेत ताला लगाउने अबस्थामा पुगे । सर्प महोत्सव सञ्चालनकालागि उपमहानगर–पालिकाको कार्यपालिका बैठकले चारलाख रुपैयाँ दिने निर्णय गरेको थियो । त्यसको भुक्तानी नपाएपछि कार्यकक्षमै ताला समेत लाग्ने अवस्था आयो । केही समय प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै थुनियो । सर्प उद्दारकर्ता प्रभात भण्डारीसंग सह्वार्द वातावरणमा छलफल हुन नसक्दा यो परिस्थिति सिर्जना भएको हो ।
प्रमुख प्रशासकीय अधिकृतका केही ब्यक्तीगत स्वभावजन्य कुराले केही अफ्ठेरो भने पारिरहेकै छ । यद्यपी विगतमा देखिएका केही वेथितिहरुमा सुधारका काम पनि त्यतिकै भएका छन् । विधिको शाषणमा टेकेर काम गर्नुपर्ने मान्यता अनुसार सुधारका कामहर अगाडी बढाएको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले बताए ।“धेरैले चिन्नु पनि भएको छैन होला, म तुलसीपुरवासी नै हुँ, तुलसीपुरलाई सुधार गर्ने भनेर म यहाँ आएको हुँ”,उनले भने“म यहाँ वेथिति हुन दिन्न्, जति सक्यो राम्रै काम गर्छु, गलत काममा कहिल्यै पनि सम्झौता गर्दिन ।”
यस्ता छन्, सुधारका सुरुवातहरू
समयमै विकास योजना सम्झौताको काम अघि बढाउनेदेखि करको दायरामा सुधार गर्ने काम भइरहेका छन् ।
खर्चमा कटौती
विगतमा हुने फजुल खर्चलाई उपमहानगरपालिकाले कटौती गरेको छ । इन्धन, भत्ता, सरसफाइ, अनुगमन तथा मूल्याङ्कन भ्रमण, मसलन्द लगायतका विभिन्न शिर्षकका खर्चलाई कटौती गरेको हो । जसबाट २ करोड ५३ लाख १ हजार ५ सय ५ रुपैयाँ बचत गर्न सफल भएको छ । यो चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको बचत हो ।
गत वर्ष भत्तामा १४ लाख ४९ हजार २ सय २१ रुपैयाँ खर्च भएकोमा यस वर्ष ३६ हजार १ सय ६६, इन्धनमा ४८ लाख ९१ हजार ७ सय ३ रुपैयाँ खर्च भएकोमा यस वर्ष ३१ लाख ३५ हजार ६, सवारी साधन मर्मत खर्च ८३ लाख ९३ हजार ६ सय २९ रुपैयाँ खर्च भएकोमा यस वर्ष ३४ लाख ४४ हजार १ सय ५४, मेसिनरी तथा औजार मर्मत सम्भार २० लाख ३६ हजार १ सय १३ रुपैयाँ खर्च भएकोमा यस वर्ष ६ लाख ६० हजार १० रुपैयाँ, मसलन्द तथा कार्यालय सामग्रीमा ७५ लाख ३९ हजार ७ सय ५७ रुपैयाँ खर्च भएकोमा यस वर्ष ६७ लाख ९ हजार ६ सय २१, पत्रपत्रिका छपाई तथा सूचना प्रकाशनमा १८ लाख ११ हजार ९ सय ३३ रुपैयाँ खर्च भएकोमा यस वर्ष १४ लाख ५३ हजार ८ सय ४० रुपैयाँ, सेवा र परामर्शमा १५ लाख २६ हजार ३ सय २२ रुपैयाँ खर्च भएकोमा यस वर्ष ६ लाख ८१ हजार १ सय ८ खर्च भएको छ ।
त्यस्तै सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालनमा ३ लाख ९३ हजार ८ सय ९५ रुपैयाँ खर्च भएकोमा यस वर्ष ८९ हजार ९ सय ३, सरसफाइ सेवा शुल्कमा ६७ लाख ३० हजार ५ सय ४१ रुपैयाँ खर्च भएकोमा यसवर्ष १४ लाख ३८ हजार ९ सय ५४, अनुगमन मूल्यांकन खर्च ४ लाख ७७ हजार ५० रुपैयाँ खर्च भएकोमा यसवर्ष ७८ हजार ६ सय, भ्रमण खर्च १९ लाख ५६ हजार ७ सय २६ रुपैयाँ खर्च भएकोमा यस वर्ष १३ लाख ३९ हजार ५ सय ८५, विविध खर्चमा २९ लाख ७२ हजार ३ सय ८५ रुपैयाँ खर्च भएकोमा यसवर्ष २० लाख ८१ हजार ८ सय १९ खर्च भएको छ ।
त्यस्तै घरभाडामा १४ लाख ८४ हजार २ सय ४४ रुपैयाँ खर्च भएकोमा यसवर्ष ४ लाख २४ हजार ९ सय ५८, अन्य भाडामा ५ लाख १ हजार ५ सय ६० रुपैयाँ खर्च भएकोमा यस वर्ष ६९ हजार ८ सय ५० रुपैयाँ खर्च भएको छ ।
विगतमा अनावश्यक तोक लगाएर अनावश्यक सामग्री लैजाने तर, प्रयोग नहुँने अवस्था थियो । त्यो पनि कम भएको छ । विगतमा यी खर्चहरुमा मनोमानि थियो । मासुमण्डीमा रोकिएको भाडा समेत उठ्न थालेको छ । सडक बत्ति नहुँदा अन्धकार थियो । सडक बत्ति पनि जडान भए । समयमा ठेक्का हुने अवस्था थिएन । तर, अहिले विगतको भन्दा धेरै योजनाहरू सम्झौता भइसकेको योजना शाखा प्रमुख टेकबहादुर खड्काले बताए । “विगत भन्दा यो बर्ष धेरै योजनाहरुको काम अघि बढिसकेको छ”,उनले भने ।
मेयर र हाकिमको मिलेको ‘क्यामिस्ट्रि’
नगरप्रमुख टिकाराम खड्का र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीबीचको सम्बन्ध भने मजवुद छ । अधिकांस कार्यपालिका सदस्यहरू र कर्मचारीहरू एकतिर हुँदा पनि नगर प्रमुखले हाकिमलाई सरक्षण गरिरहेका छन् । किनकी प्रमुख प्रशासकीय अधिकृत डाँगी ‘चेन अफ कमाण्ड’मा प्रतिबद्ध छन् ।
“चेन अफ कमाण्ड अनुसार मैले मेयर र उपमेयरले भनेको मान्नु पर्छ, मैले उहाँहरुको सल्लाह र कानुनको मार्गदर्शन अनुसार नै काम गर्नुपर्छ”,प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने ।
प्रमुख खड्का यो विषयमा आस्वस्त छन् । पटक–पटक प्रमुख प्रशासकीय अधिकृतको सरुवाको कुरा उठ्दा प्रमुख खड्काले अहिलेकै हाकिमलाई निरन्तरता दिनुपर्ने कुरामै बल गर्ने गरेको एक कार्यपालिका सदस्य बताउछन् । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २३ फाल्गुन २०८१, शुक्रबार ०९:०९ बजे