भूकम्पबाट सिन्धुपाल्चोकमा पहिरो

काठमाडौं, १६ फाल्गुन ।
शुक्रबार बिहानको भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा सुख्खा पहिरो खसेको छ। गाउँपालिकाको वडा नम्बर ३ तातोपानीनजिकै पहिरो खसेको वडाध्यक्ष निमासोना शेर्पाले जानकारी दिए।

उनकाअनुसार पहिरो उल्लेखनीयरूपमा खसेको छैन। पहिरोबाट भौतिक क्षति पनि भएको छैन।

‘त्यहाँ बर्खायाममा पनि पहिरो गइरहन्थ्यो। अहिले पनि सानो पहिरो खसेको छ। राति भूकम्पको धक्का ठूलै महसुस गरिएको थियो। अहिलेसम्म क्षतिको जानकारी आएको छैन। हामी पनि बिहानैदेखि विवरणबारे सोधिरहेका छौं,’ उनले भने।


शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

काठमाडौं उपत्यकामा पनि भूकम्पको कडा धक्का महसुस गरिएको थियो। त्यस्तै मधेस, कोशी प्रदेशमा पनि भूकम्पको कम्पन महसुस गरिएको थियो। अन्यत्र पनि भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन।