
तुलसीपुर, १५ फाल्गुन ।
घर अगाडी नै खानेपानीका धारा छन् । त्यही पानीको सिंचाईबाट आँगणमै प्याजका बोट उम्रिरहेका छन् । गाग्री बोकेर घण्टौ हिडेर पानी ल्याउनेहरू अहिले आँगणमै कपडा धुदै छन् । यी हुन्, तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का बस्तिहरुका दृश्य । कुनै समय पानीको हाहाकार हुने गरेको अम्बास, प्रतापकोट, कल्ले–बल्ले, टुनापानी, नाउला, सितधारा लगायतका बस्तिमा खानेपानीको समस्या टरेको छ । “कुनै बेला पानी ल्याउन खोलामा जानु पर्थ्यो, त्यहाँबाट फर्किदा दुई/तीन घण्टा लाग्थ्यो”, तुलसीपुर ३ अम्वास निवासी शसिकला बिकले भनिन् “अब त्यो समस्या छैन ।”
अहिले सोही ठाउँको घुतघुते र दाङपानीबाट पानी ल्याएपछि सहज भएको उनको भनाई छ । त्यहाँका करिब तीनसय घरधुरीलाई खानेपानीमा सहज भएको उनले बताईन् । पानी आएपछि मानिसलाई मात्रै नभई गाईवस्तुलाई पनि सहज भएको स्थानीय लिलामणी बाँठाले बताए । त्यति मात्रै नभई तरकारी फलाउने गरेको समेत उनको भनाई छ ।“मानिसले खाने मात्रै होईन्, गाईवस्तु र तरकारी फलाउनेसम्मको काम गरेका छौं”,उनले भने “यसले निकै सहज बनायो ।”
त्यहाँ गाउँमा २ वटा ट्याङ्की छन् । स्थानीय मालबहादुर वलीका अनुसार कुनै बेला राती ३ बजे पानी ल्याउनकालागि मुहानमा जानुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए । “पानी ल्याउन राती ३ बजे जानुपर्थ्यो, त्यही पनि पालो पाईदैनथ्यो”,उनले भने “पानी कुर्दा–कुर्दा दिउसो १२ बज्थ्यो, त्यतिबेलासम्म पनि खाना पकाउने सुरसार हुने थिएन, अब त्यस्तो समस्या हट्यो ।”
पानीको समस्या टरेपछि आफूहरू खुसी भएको उनको भनाई छ । विकट क्षेत्रका रुपमा रहेको सोही ठाउँमा विद्युत र सडक पनि सहज रुपमा पुगेको छ । सोही ठाउँलाई पर्यटकीय स्थलका रुपमा पनि लिन सकिने स्थानीयले बताएका छन् । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । १५ फाल्गुन २०८१, बिहीबार ०८:०२ बजे