गाडी दुर्घटनामा १ सय ९७ जनाको मृत्यु

दाङ,९ माघ ।
पुस महिनामा गाडी दुर्घटनामा एक सय ९७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कानुसार पुसमा तीन हजार तीन सय ७४ वटा गाडी दुर्घटना हुँदा एक सय ५४ जना पुरुष, ३३ जना महिला, पाँच जना बालक र पाँच जना बालिका गरी एक सय ९७ जनाको मृत्यु भएको हो । गाडी दुर्घटनामा ६ सय ४६ जना गम्भीर घाइते भएका छन् भने २ हजार ७ सय ७१ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।

सबैभन्दा धेरै दुई हजार ७६ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस चार सय ४६ वटा, बस एक सय २१ वटा, टेम्पो एक सय ७८ वटा दुर्घटनामा परेका छन् ।


एक सय ७३ वटा ट्रक, ट्याङ्कर, टिपर मालवाहक गाडी दुर्घटनामा परेका प्रहरीको तथ्याङ्क छ । गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, जाँड–रक्सी खाएर चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियमको उल्लङ्घन रहेका प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले पुस महिनामा चालकलाई कारबाही गरेर नौ करोड ४६ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।