
काठमाडौं, २५ पुस ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
सुर्यदर्शन सहकारीको बचत अपचलन मुद्दा लागेका जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएका हुन्।
रास्वपा सभापति लामिछानेलाई ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।
धरौटीमा छाड्न आदेश भएकाहरूले जिल्ला अदालत कास्कीमै धरौटी बुझाउनुपर्ने हुन्छ। धरौटी बुझाए पनि उनीहरू छुट्ने छैनन्। कास्की प्रहरी स्रोतले धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं लगिने जानकारी दिएको छ।
रास्वपा सभापति लामिछानेलाई पनि धरौटी बुझाएलगत्तै काठमाडौं पठाउने तयारी छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछानेमाथि मुद्दा छ। लामिछानेमाथि जहाँ–जहाँ मुद्दा छ ती सबै जिल्लाका अदालतमा कास्कीमा जस्तै थुनछेक बहस हुनेछ।



लाइभदाङ । २५ पुष २०८१, बिहीबार १९:३८ बजे