
तुलसीपुर, ९ पुस ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.४ स्थित जनचेतना आमा समूहको नौमति वाजा दाङमा मात्रै होईन्, वुटवलसम्म पनि माग हुने गर्छ । विवाह व्रत मात्रै होईन्, पुजा,आजालगायत सबै जसो कार्यक्रममा त्यही आमा समूहको गाजावाजाको टोली पुग्ने गर्छ । गएको मङ्सिर महिनामा मात्रै ३० भन्दा बढि कार्यक्रममा गएको अध्यक्ष कस्तुरा खड्काले बताईन् । पुसमा पनि राजनीतिक दलका कार्यक्रम होउन्,वा अन्य कुनै सार्वजनिक कार्यक्रमहरुमा पनि त्यतिकै माग हुने गरेको बताईन् । “पहिले–पहिले गाह्रो थियो, अहिले त ठाउँ–ठाउँबाट हाम्रो माग भइरहेको छ”,उनले भनिन् “आम्दानी पनि ठीकै भएको छ ।”
एउटा कार्यक्रमको ८ हजारदेखि २५ हजारसम्म लिने गरेको उनले बताउछिन् । कति समयसम्म बजाउने हो, त्यसका आधारमा भाडा लिने गरेको उनको भनाई छ । पछिल्लो समय यस्ता बाजाहरू लोप हुन थालेपछि आफूहरूले संरक्षणमा जुटेको उनको भनाई छ । “पहिले गाउँमा विवाह,वर्त हुँदा नौमति बाजा बज्थे”,उनले भनिन् “तर,पछिल्लो समय बज्न छोडे, त्यसैले हामीले यसलाई संरक्षण गर्नकालागि सुरुवात गरेका हौं ।” २०७९ को तिहारमा भैलो खेलेर संकलन भएको एक लाख ४० हजारले ति सामग्री किनिएको हो । सोही आमा समूहमा २५ जना भन्दा बढि महिला आबद्ध छन् । पञ्चेवाजाले थोरै आम्दानी गरिरहेको भएपनि यसलाई संरक्षणका लागि भवन आवश्यक परेको अध्यक्ष खड्काले बताईन् । भवन निर्माणकालागि सरकारबाट सहयोगको समेत अपेक्षा गरिएको छ ।
पञ्चेवाजा बजाउने मात्रै नभई उक्त समूहले सामाजिक कार्य पनि गर्दै आएको छ । गाउँमा कसैको झैझगडा भएमा त्यो पनि मिलाउने गरेको अध्यक्ष खड्काको भनाई छ ।“गाउँमा झगडा भएमा मिलाईदिनु प¥यो भन्दै आउनु हुन्छ”,उनले भनिन् “त्यस्ता झैझगडा पनि मिलाउने गरेका छौं ।” ति बाहेक अन्य श्रमका काम पनि गर्दैै आएको उनले बताईन् ।
घरहरुमा पेन्ट लगाउने, विवाहमा खाना खुवाउनेजस्ता कार्य पनि गर्दै आएको छ । सधै चुलोचौकोमा सीमित हुने महिलाहरू पनि सामाजिक रुपमा शसक्त छन्, भन्ने सन्देश दिन आफूहरूले यो कार्य गरेको उनको भनाई छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ९ पुष २०८१, मंगलवार २०:३१ बजे