एमनेस्टी इन्टरनेशनल नेपाल ग्रुप ६६ दाङद्वारा अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

तुलसीपुर, २६ मंसिर ।
हरेक वर्ष डिसेम्बर १० तारिखमा मनाइने अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा एमनेस्टी इन्टरनेसनल नेपाल ग्रुप ६६ दाङले अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। एमनेस्टी इन्टरनेसनल नेपाल ग्रुप ६६ दाङको आयोजनामा भएको उक्त प्रतियोगितामा तुलसीपुर क्षेत्रका विद्यालयहरूका मावि तहका विद्यार्थीहरूको सहभागिता रहेको थियो। गुरुजजुर माध्यमिक विद्यालय रक्षाचौरमा भएको उक्त कार्यक्रममा ‘व्यक्तित्व विकासमा मानव अधिकारको प्रवर्धन’ भन्ने विषयमा विद्यार्थीहरुले वक्तृत्व प्रस्तुत गरेका थिए।

एआई ग्रुप ६६ दाङका उपसंयोजक सुनिल पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एमनेस्टी इन्टरनेसनल नेपालका पूर्व केन्द्रीय सदस्य प्रमोद न्यौपाने लगायतकाले बोल्नुभएको थियो। तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्का, मावि अस्वाराका मावि तह संयोजक खगेन्द्र काफ्ले, गुरुजजुर माध्यमिक विद्यालय रक्षाचौरका निमावि तह संयोजक लेबेन्द्र केसी निर्णायकमा रहनुभएको थियो।


सो कार्यक्रममा तुलसीपुर १७ हेमन्तपुरमा अवस्थित फोर्टी नाइन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा रिचा अधिकारी प्रथम, हिमाल एकेडेमी तुलसीपुरकी छात्रा कृतिका थापा द्वितीय, र गुरु जजुर माध्यमिक विद्यालय रक्षाचौरकी छात्रा सृजना डाँगी तृतीय स्थानमा रहन सफल हुनुभएको थियो। प्रथम हुनेले नगद रु. १५०० प्रमाणपत्र, मेडल, द्वितीय हुनेले रु.१००० प्रमाणपत्र, मेडल तथा तृतीय हुनेले रु. ५०० प्रमाणपत्र र मेडल प्राप्त गर्नुभएको थियो। उक्त कार्यक्रममा सहभागी सबै विद्यालयहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

एमनेस्टी इन्टरनेसनल नेपालका पूर्व केन्द्रीय सदस्य प्रमोद न्यौपानेको प्रमुख आतित्यता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत मनबहादुर खड्काको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको थियो। एमनेस्टी इन्टरनेसनल नेपाल समूह ६६ दाङका संयोजक बामदेव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण समूह ६६ दाङका सचिव कमल भण्डारीले गर्नुभएको थियो ।