दीपक बोहरा
दाङ, ३ मंसिर ।
दाङको कर्णाली भनेर चिनिने दाङको बबई गाउँपालिका वडा नं. ७ मलैमा विगत जस्तो दुःख छैन । विगतमा सडक थिएन । सडक नहुँदा स्टेचर वा डोकोमा बोकेर विरामीलाई लैजानु पथ्र्यो । बीचमा जंगल भएकाले जनावरको पन उत्तिकै डर हुन्थ्यो । तर, अहिले त्यो समस्या टरेको छ । मलै जाने सडक स्तरोन्नती हुँदा गाउँमै गाडी पुग्छन् ।“विगतमा सडक थिएन, सडक भएपनि त्यति राम्रो थिएन”, स्थानीय बमबहादुर बुढाले भने “अहिले सडक सहजै छ, यसलाई अझै राम्रो बनाउने योजना छ ।” यो वर्ष प्रदेश सरकारले ५० लाख बजे विनियोजन गरेको छ । त्यो बजेटले वर्षादमा पनि आवतजावत गर्ने गरि स्तरबृद्धि गर्ने उनले बताए । “प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ”,उनले भने “बर्षादमा अझै पनि सडक विग्रिएर आवतजावतमा समस्या हुन्छ, त्यो बजेटले बर्षादमा पनि आवतजावत गर्ने गरि स्तरबृद्धि गर्ने सोँच बनाएका छौं ।” सोही निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्य धनबहादुर मास्कीलाई अनुरोध गरेपछि सोही ठाउँमा बजेट परेको भन्दै त्यो बजेटलाई बहुबर्षिय बनाउने गरि पहल भइरहेको उनको भनाई छ ।
त्यहाँको अर्को समस्या भनेको सञ्चार पनि हो । फोन गर्नकालागि २ घण्टा हिडेर डाँडोमा जानु पथ्र्यो । अब त्यो समस्या पनि हट्दैछ । सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ । उक्त टावर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी बैशाखदेखि सूचारु गर्ने तयारी रहेको वडाध्यक्ष तिलकराम भण्डारीले बताए । “यहाँको एउटा मुख्य समस्या भनेको फोन नलाग्ने समस्या हो”,उनले भने “टावर निर्माण भइरहेको छ, बैशाखदेखि सेवा सूचारु गर्ने तयारी छ ।”
मलैको बस्ति राष्ट्रिय निकुञ्जसंग जोडिएको छ । जहाँ लगाएको बालीनाली बदेँल, बाँदर लगायतले जनावरले खाइदिन्छन् । त्यसकालागि केही स्थानमा तारवार पनि भएको छ । आधा दर्जन बढि बस्ति रहेको सोही ठाउँमध्ये केहीमा तारबार भएपनि अधिकांश ठाउँमा तारबार छैन । त्यसले गर्दा किसान चिन्तित हुने अवस्था छ । तर, राष्ट्रिय निकुञ्जलाई अनुरोध गरेकाले त्यसलाई सम्बोधन गर्ने आस्वासन आएको टोपबहादुर बस्नेतले बताए । “केही ठाउँमा तारबार भएको छ, केही ठाउँमा अझै बाँकी छ, बाँकी रहेको ठाउँमा पनि तारबार भएमा बाली जोगाउन सहज हुन्थ्यो”,उनले भने “हामीले अनुरोध गरिरहेका छौं, केही सम्बोधन होला ।”
मलैमा दुईवटा विद्यालय छन् । ति मध्ये सरस्वति प्रावि जलजलामा कक्षा ५ सम्म पढाई हुन्छ, भने देउती मावि तल्लो मलइमा कक्षा १० सम्म पढाई हुन्छ । कक्षा ११ देखि माथिको कक्षाकालागि भने तुलसीपुर वा घोराही पुग्नु पर्ने अवस्था छ । कक्षा १२ सम्म सोही ठाउँमा पढाई हुने वातावरण मिलाउनु पर्ने स्थानीय बस्नेतले बताए ।
खानेपानी र सिंचाईको भने सहज पहुँच छ । विद्युत पनि दुई वर्ष अघि पुगेको छ । विद्युत पुगेपछि त्यहाँका नागरिकलाई थप सहजता भएको छ । एउटा स्वास्थ्य चौकी छ । त्यसलाई थप सुविधा सम्पन्न बनाउन आवश्यक रहेको उनले बताए ।
बसाइसराई बढ्दैछ
दाङको कर्णालीका रुपमा लिइने सोही क्षेत्रबाट बसाईसराई गरेर बाहिर जानेको संख्या भने घटिरहेको छैन । बर्षमा १० देखि १५ घर बसाईसराई गरेर बाहिर जाने गरेका छन् । तर, अब सञ्चार र सडकको पहुँच पुग्ने वित्तिकै बसाईसराई पनि घट्ने स्थानीय सिवानी बस्नेतले बताईन् ।“सडक र सञ्चारको विकास हुन लागेको छ”,उनले भनिन्“त्यो विस्तार भएमा बसाईसराई पनि घट्ने छ ।” जनगणना २०७८ अनुसार तीनसय २५ घरधुरी भएपनि अहिले करिब दुई सय मात्रै त्यहाँ बस्ने गर्छन । ति मध्ये अधिकांश युवा पैसा कमाउन विदेश जाने गरेका छन् ।
त्यहाँको बस्तिमा जनप्रतिनिधको चासो
सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य धनबहादुर मास्कीले अहिले आफूले सडकमा ५० लाख बजेट हालेको बताए । त्यो सडक विस्तार गर्नकालागि सोही बजेटबाट काम गर्ने तयारी रहेको छ । त्यतिले मात्रै नपुग्ने भन्दै बहुबर्षिय बनाएर स्तरबृद्धिकालागि आफूले पहल गरेको पूर्वअर्थमन्त्री समेत रहेका मास्कीले बताए । “मैले निर्वाचनको बेला त्यहाँ पुगेर मलैको अवस्था बुझेको थिए”,उनले भने“त्यसलाई मध्येनजर गरि सडक विस्तारमा ध्यान दिएको छु ।” साथै त्यहाँ टेलिकम टावर विस्तारमा पनि पहल गरेको उनको भनाई छ । दाङको कर्णाली भनेर पश्चिम दाङलाई नामकरण गर्ने गरिएको भएपनि त्यसलाई सुगम दाङ बनाउने गरि काम गरिरहेको उनको भनाई छ ।
त्यस्तै बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले पनि बबइका यस्ता विकट बस्तिलाई सुगम बनाउने गरि काम गरिरहेको बताए । उनले सडक, सञ्चार, विद्युत विस्तारकालागि पहल गरिरहेको प्रतिक्रिया दिए । साभरः अग्रिम साप्ताहिक
लाइभदाङ । ३ मंसिर २०८१, सोमबार ११:२६ बजे