कार्यालयमा बाँसबाट बनेका कुर्सी 

दाङ, ३ मंसिर ।
दाङको राप्ती गाउँपालिकाको कार्यालयमा बाँसबाट बनेका कुर्सी प्रयोगमा ल्याईएको छ । पहिलो चरणमा पालिका अध्यक्ष प्रकाश विष्टको कार्यकक्षमा ति कुर्सीहरू प्रयोगमा ल्याईएको हो ।   वडा नं. ५ स्थित करंगेकोटकी अनिष्मा ओलीले बनाएका ति सामग्री प्रयोगमा ल्याएको अध्यक्ष विष्टले बताए। “स्थानीय उत्पादनलाई प्रत्साहन गर्ने हाम्रो उद्देश्य हो, विगतदेखि नै त्यसरी नै काम गर्दै आएका छौं”,उनले भने “अहिले हामीले बाँसबाट बनेका  कुर्सीलाई कार्यालयमा प्रयोगमा ल्याएका छौं ।”

राप्ती गाउँपालिकाले उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाहरूलाई बाँसबाट फर्निचर बनाउने सीप विकास तालिम प्रदान गरेपछि ओलीले यसरी बाँसका फर्निचर बनाउन सुरु गरेका हुन् ।

उनीसहित १५ जना युवा तथा महिलाहरूले सामूहिक रुपमा व्यवसायीक बाँसको सामाग्री उत्पादनको तयारी गरेका छन् । त्यसको लागि उनीहरूले रम्तेल श्रमिक सहकारी संस्था स्थापनाको तयारी समेत थालेका छन् । गाउँघरमा प्रशस्त पाइने बाँसबाट सामाग्री बनाएर आम्दानी गर्न सकिने उनीहरूको विश्वास छ । उनीहरूले मुढा, कुर्सी, टेबल लगायतका फर्निचरका सामग्री निर्माण तालिम लिएका हुन् ।


स्थानीय रूपमा पाइने वस्तुबाट विभिन्न सामग्री बनाउँदा एकातिर आत्मनिर्भर हुने र अर्कातिर परम्परागत सीपको पनि संरक्षण हुने भन्दै यस्तो कार्यलाई आफूहरूले प्रोत्साहन गरेको अध्यक्ष विष्टले बताए । सीप र प्रविधिको अभावका कारण खेर गइरहेका बाँसको सदुपयोगबाट निम्न आर्थिक आय भएका नागरिकहरूको जीवन स्तर बदलिने विश्वास व्यक्त गरेका थिए । साभारः अग्रिम साप्ताहिक