तुलसीपुर ,३ मंसिर ।
विश्वमै लोपन्मुख अवस्थामा रहेको सुगन्धकोकिला (मल्लागिरी) को विउ बाहिरी जिल्लाबाट पनि आउने गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लीकोटमा पाईने मल्लागिरीको विउ अहिलेसम्म २६ जिल्लामा निर्यात गरिएको स्थानीय प्रविर पुनले बताए । “विश्वमै लोपन्मुख रहेको यो विरुवा छिल्लीकोटमा पाइन्छ, भनेपछि धेरै जना आएर विउ लिएर जाने गर्नुभएको छ”,उनले भने “अहिलेसम्म नेपालका २६ जिल्लामा निर्यात भइसकेको छ ।”
मल्ला गिरी नै छिल्लीकोटका नागरिकको जीवनस्तर माथि उठाउने गरेको छ । सुगन्धकोकिला प्रतिकिलो साढे सातसयसम्म बिक्री हुने गरेको छ ।“विगतमा हामीले किलोको पाँचसयसम्ममा पनि विक्री गरेका छौं”,उनले भने “तर, अहिले बृद्धि भएर साढे ७ सयसम्म भाउ गएको छ ।”
जहाँ १० गाउँका एकसय ५ घरले नै मल्लागिरीबाट आम्दानी लिने गरेका छन् । जसबाट वर्षेनी डेढसय क्वीन्टल उत्पादन हुने गर्छ । अहिले सबैले घरमा नयाँ रुख समेत रोपेका छन् ।“पुराना रुखहरु सकिदै गएपनि नयाँ रुखहरू हामीले लगाएका छौं”,उनले भने “हाम्रो खेति नै यसकै छ ।”
सुगन्धकोकिला बाहिरी देशमा पठाइने गरिन्छ । यहाँबाट कच्चा सुगन्धकोकिला लगेपछि के–के बन्छ, भन्ने कुरा आफूहरूलाई थाहा नभएको स्थानीयवासी जीवराज रेउलेले बताए । “यहाँबाट हामीले कच्चापदार्थ बेच्छौं, त्यसबाट उच्चस्तरको सेन्ट, अगरबत्ती बनाउन प्रयोग हुन्छ, भन्ने सुनिएको छ”,उनले भने,“ तर, अरु केमा प्रयोग हुन्छ, भन्ने कुरा आफूहरूलाई पनि त्यति जानकारी नै छैन ।”
एउटा रुखले दुईसय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गर्छ । अहिले मल्लागिरी भित्र्याउने समय हो । सबैले मल्लागिरी टिपेर राख्ने गरेका छन् । यस्तो
लोपन्मुख अवस्थामा रहेको सुगन्धकोकिलालाई सरकारले संरक्षणमा ध्यान दिनुपर्ने उहाँको माग छ । “पहिले–पहिलेका रुख पनि सुक्दै जान थालि सकेका छन्, हामीले संरक्षणका लागि केही बिरुवा त रोपेका छौैँ”,उनले भने “यसमा सरकारले पनि संरक्षणका लागि पहल गरिदिएमा यहाँका बासिन्दाको आम्दानीको स्रोत पनि बढ्ने र रुख पनि संरक्षण हुने थिए ।”
पछिल्लो समय वन कार्यालयले त्यहाँ केही रुख रोपे पनि त्यसलाई संरक्षण गर्न कुनै चासो नदेखाएको पुनको भनाइ थियो । सुगन्धकोकिला पवित्र हुने भएकाले धार्मिक कार्यका लागि प्रयोगमा ल्याउनुका साथै यसको पातबाट तेलसमेत निकाल्न सकिने र पिपलपछि दोस्रो बढी अक्सिजन दिने रुखका रुपमासमेत रहेकाले यसको संरक्षण आवश्यक रहेको अर्का स्थानीयवासी पूर्ण पुनले बताए ।
सुगन्धकोकिला समुद्र सतहदेखि ८ सयदेखि २ हजार मिटरको दूरीमा हिमालको हावा बहने जंगलमा फष्टाउने गर्छ । बिरुवा रोपेको चार वर्षदेखि नै यसले उत्पादन दिन सक्ने र यसलाई अलि व्यवस्थित गर्न सकिए देशलाई नै आर्थिक हिसाबले टेवा पुग्ने उनको भनाइ थियो ।
अहिले जंगलमा रहेका नयाँ रुखलाई जोगाउने कार्यमा आफूहरू सक्रिय रहेको स्थानीयबासीको भनाइ थियो । मल्लागिरीको बोक्राबाट विभिन्न प्रकारका सेन्ट, अगरवत्ति निर्माणका लागि प्रयोग गरिन्छ, भने मल्लागिरीको गेडाबाट तेल बनाउन प्रयोग हुन्छ । कहिलेकाहीँ, त्यहाँ उत्पादन भएको सुगन्धकोकिलाले बजार नपाउने पनि समस्या भएकाले त्यसका लागि चिस्यान केन्द्र स्थापना गरिदिनुपर्ने माग समेत राखेका छन् । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ३ मंसिर २०८१, सोमबार ११:३३ बजे