तुलसीपुर ११ ले हेरायो दलित समुदायलाई‘पूर्णबहादुरको सारंगी’

तुलसीपुर, २७ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का दलित समुदायका सदस्यहरुलाई चलचित्र‘पूर्णबहादुरको सारंगी’ हेराएको छ ।

वडाले दलित समुदायका ६५ सदस्यहरूलाई चलचित्र उक्त चलचित्र निःशुल्क हेर्ने अवसर प्रदान गरेको छ। वडाले चलचित्रको टिकट काटेर सहभागीहरूलाई यातायात सुविधा तथा नास्ता खर्चसमेत उपलब्ध गराएको थियो।

वडाअध्यक्ष मानबहादुर रावतका अनुसार यो चलचित्र नेपाली समाजमा आमाबिना बालबालिकाहरुको भबिष्य उज्जवल बनाउन सकिन्छ, भन्ने सन्देश दिएको भन्दै यो सन्देशलाई सामाजिक रुपमा स्थापित गर्न चलचित्र हेराईएको हो ।


दलित समुदायका बालबालिकाहरूलाई शिक्षामा बढी ध्यान दिन प्रोत्साहित गर्ने उद्देश्य रहेकाले पनि यो चलचित्र हेराएको उनको भनाई छ । “समाजमा अझै पनि धेरै बालबालिका आफ्ना आमाबुवाको अवहेलनाका कारण उच्च शिक्षाबाट वञ्चित भइरहेका छन्”,उनले भने“यसले अभिभावकहरूको जिम्मेवारीबोधमा सुधार ल्याउनुपर्ने आवश्यकता देखाएको छ ।”

चलचित्र मनोरञ्जनको माध्यममा मात्र नभई यसलाई समाजका विभिन्न समस्याहरूको समाधान र चेतना विस्तार गर्ने प्रभावशाली माध्यमका रूपमा हेर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष रावतले बताए। उनले चलचित्रले समाजलाई नयाँ दृष्टिकोण र सोचमा परिवर्तन ल्याउने बताए ।

वडाअध्यक्ष रावतले दलित सशक्तिकरणका लागि सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरूको महत्त्वलाई जोड दिँदै, यस प्रकारको चलचित्र प्रदर्शनलाई वडाको एउटा महत्वपूर्ण कदमको रुपमा रहेको बताए ।