दाङ, २५ कात्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिनु भएको छ । छिमेकी देश चीन भ्रमणमा जान लाग्नु भएका मुख्यमन्त्री आचार्यले आफु नफर्किदा सम्मकोलागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनु भएको छ ।
मुख्यमन्त्री आचार्यले कार्तिक २५ गते आज आइतबार देखि लागु हुनेगरी लुम्बिनी प्रदेश सरकार कार्य सम्पादन नियमाली २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको कार्यसम्पादन गर्नेगरी जिम्मेवारी तोक्नु भएको हो । नेपालको संविधान र अन्य प्रचलित कानूनको अधिनमा रही तोकिएको कार्य जिम्मेवारी सम्मादन गर्न अनुरोध गरिएको छ ।
सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन मुख्यमन्त्री आचार्य सहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको हो । सिचुआन प्रान्तमा समन्वय र विकासको बिषयमा छलफल गर्न (नोभेम्बर ११ देखी १३) कार्तिक २६, २७ र २८ गते अन्तराष्ट्रिय सम्मेलन हुदैछ । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षिय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुनेछ ।
वि.सं.२०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरिएको थियो । तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गर्नु भएको थियो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्त विच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।
लाइभदाङ । २५ कार्तिक २०८१, आईतवार ०९:४१ बजे