पेन्टिङमा डिभाइनका सक्षम प्रथम

तुलसीपुर,२४ कात्तिक ।
नेसनल प्याब्सन, दाङले विद्यार्थीहरुका लागि ‘एक दिने पेन्टिङ कार्यशाला तथा प्रतियोगिता’ गरेको छ। विद्यार्थीहरुको अन्तर्निहित सृजनालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सचिब सालिकराम कार्किले बताए ।

कार्यशालाको मुख्य प्रशिक्षकको रूपमा फाइन आट्र्स एसोसिएसनका केन्द्रिय सदस्य लेखराज गिरी थिए, भने टेक्निकल सहयोग सन्दीप आट्र्स तुलसीपुरले गरेको थियो।

कार्यशालापछि भएको प्रतियोगितामा डिभाईन टेम्पल एकेडमीका सक्षम शाह प्रथम, शाइनिङ सनबिम स्कुलका सन्ध्या पन्त द्धितिय, शिखा स्कुलका स्मृती चौधरी तृतीय एवम पारिजात स्कुलका पुजा सुनार सान्त्वना भएकी थिइन ।

बिजेताहरुलाई पुरस्कार एवम प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस अवसरमा प्रमुख अतिथि नेसनल प्याब्सन केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीले यस्ता कार्यशाला एवम प्रतियोगिताले विद्यार्थीहरुको सिकाइ एवम् उनिहरु भित्रको अन्तरनिहित प्रतिभालाई बढवा दिने र क्षमतावान नागरिक निर्माणमा महत्वपूर्ण हुने बताए । त्यस्तै बिशिष्ट अतिथि शिक्षा महाशाखा तुलसीपुरका शिक्षा अधिकृत मन बहादुर खड्काले यस्ता कार्यक्रमहरु राष्ट्रिय पाठ्यक्रमले परिकल्पना गरेको बताए । त्यस्तै बिशिस्ट अतिति नेसनल प्याब्सनका केन्द्रिय सदस्य प्रकाश शर्मालेले यस्ता कार्यक्रमले विद्यार्थीहरुको क्षमता विस्तारमा टेवा पुग्ने बताए ।


कार्यक्रममा नेसनल प्याब्सन दाङका उपाध्यक्ष ठाकुर डाँगी,कोषाध्यक्ष भुवन ओली, सह–कोषाध्यक्ष दिपक खड्का, जिल्ला प्रबक्ता हरि प्रसाद भण्डारी, तुलसीपुर नगर अध्यक्ष सुमन केसी, जिल्ला सदस्य रोमहर्ष शर्मा, सन्दिप आट्र्स तुलसीपुरका संचालक सन्दिप चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

डिभाईन टेम्पल एकेडमीमा उक्त कार्यक्रम भएको हो । एनप्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षामा भएको कार्यक्रमको सहजीकरण सचिब सालिकराम कार्कीले गरेका थिए ।