राप्तीमा भूमि-कृषि सम्बन्धी सरोकारवाला निकायसँग सम्वाद

तुल बहादुर कवँर मगर
मसुरीया, १२ कात्तिक ।
दाङको राप्ती गाउँपालिकामा सोमबार भूमि–कृषि सम्बन्धी सरोकारवाला निकायसँग सम्वाद कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक आत्मनिर्भर सेवा केन्द्र लमहीको आयोजना तथा राप्ती गाउँपालिका दाङ र युएन ह्याबिटाटको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा राप्ती गाउँपालिकाकि उपाध्यक्ष कमलापती चौधरीले कृषि र भूमिसँग सम्बन्धित चुनौतीहरूको समाधान गर्दै समुदायलाई आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो।

त्यस्तै उहाँले पालिकाले भूमिहीन,भूमिहीन दलित ,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लागि लालपुर्जा दिने उदेश्यले जग्गाको नापजाँच गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो।

स्थानीय कृषकहरूलाई सक्षम र सशक्त बनाउन भूमि व्यवस्थापन र कृषि प्रविधिको पहुँच पुर्याउने विषयलाई पालिकाले विशेष प्राथमिकतामा राखेको बताउदै उपाध्यक्ष चौधरीले त्यसको लागि सबैको साथ र सहयोग हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा युएन ह्याबिटाटका बन्दना सिन्हा र समुदायलाई आत्मनिर्भर सेवा केन्द्रका रेमन्त चौधरीले करार खेती,भूमि बैंकको आधार लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,गाउँ कार्यपालिका सदस्यहरु,विभिन्न शाखाका शाखा प्रमुख,गाउँ अगुवा,कृषक,पत्रकारहरु लगायतको सहभागीता रहेको थियो ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका जगबिर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सेवा केन्द्रकी भूमि -कृषि कार्यक्रम अधिकृत जुगमानी चौधरीले गर्नुभएको थियो ।