
आशिष केसी
तुलसीपुर, ७ फागुन ।
डिभाइन एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित डिभाइन पाठशालाको दोस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । फाउन्डेसनका सीइओ भोजराज न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको प्रमुख आतिथ्यता एवं नेशनल प्याब्सन दाङका सचिव हरि प्रसाद भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि केसीले गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको बताउँदै निजी तथा संस्थागत विद्यालयहरूले समयानुकूल शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले डिभाइन पाठशालाले छोटो समयमा नै शैक्षिक, अनुशासन र संस्कारयुक्त वातावरण निर्माण गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । साथै अभिभावक, शिक्षक र व्यवस्थापनबीचको सहकार्यले मात्रै विद्यार्थीको समग्र विकास सम्भव हुने उल्लेख गर्नुभयो ।
विशिष्ट अतिथि हरि प्रसाद भण्डारीले विद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूलाई पुस्तकिय ज्ञानसँगै व्यवहारिक र नैतिक शिक्षामा पनि ध्यान दिन आग्रह गर्नुभयो । निजी विद्यालयहरूले समाजप्रति उत्तरदायी भई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणा राख्दै डिभाइन पाठशालाको प्रगतिशील यात्राको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा फाउन्डेसनका सीइओ भोजराज न्यौपानेले विद्यालयको निरन्तर प्रगतिमा अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूको साथ र विश्वास नै मुख्य आधार भएको बताउनुभयो । उहाँले विगत लामो समयदेखि पिस पायोनियर स्कुलको नामबाट सञ्चालित विद्यालयलाई दुई वर्षअघि फाउन्डेसनमार्फत डिभाइन पाठशालाको रूपमा नयाँ सोच, नयाँ व्यवस्थापन र गुणस्तरीय शिक्षाको लक्ष्यसहित अघि बढाइएको जानकारी दिनुभयो । साथै उहाँले आफूहरूले नेतृत्व गरेसँगै पूर्णरुपमा मन्टेस्वरी विधिबाट पठनपाठन गराइएको पनि जानकारी दिनुभयो । आगामी दिनमा अझ आधुनिक, प्रविधिमैत्री र व्यवहारिक शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पत्रकार जीत सागर जीएमले विद्यालयले छोटो अवधिमै शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेको उल्लेख गर्दै संस्थाको उज्ज्वल भविष्यको कामना गर्नुभयो । उहाँले शिक्षा क्षेत्र समाज परिवर्तनको प्रमुख माध्यम भएकाले अनुशासन, नैतिकता र परिश्रमलाई जीवनको मूल मन्त्र बनाउन विद्यार्थीहरूलाई प्रेरणा दिनुभयो ।
कार्यक्रममा फाउन्डेसनद्वारा सञ्चालित डिभाइन मन्टेश्वरीकी प्रिन्सिपल विन्दु न्यौपाने, डिभाइन टेम्पल एकेडेमीका म्यानेजिङ डाइरेक्टर प्रकाश न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बालबालिकाहरूले नृत्य, गीत, मन्तव्य, नाटक लगायत विविध प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । साथै वार्षिक परीक्षा तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।



लाइभदाङ । ७ फाल्गुन २०८२, बिहीबार १९:१० बजे