मुख्यमन्त्री आचार्यलेद्वारा खजुरा क्यान्सर अस्पतालको अवलोकन

बाँके, ७ कात्तिक ।
बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अवलोकन गर्नु भएको छ । धार्मिक कार्यबाट नागरिकले मुट्ठी दानगरेर निर्माण गरि सरकारलाई हस्तान्तरण गरिएको लुम्बिनी प्रदेशको एकमात्र क्यान्सर अस्पतालको बुधवार मुख्यमन्त्री आचार्यले अवलोकन गर्नु भएको हो ।

अवलोकनका क्रममा मुख्यमन्त्री आचार्यले बिरामीहरुसँग अस्पतालले दिएको सेवा बारे जिज्ञासा राख्नु भएको थियो । सो अवसरमा अस्पताल प्रशासनलाई उहाँले संघीय सरकार मातहतको अस्पताल भएपनि प्रदेशले नियमले दिने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रदेशले गर्न सक्ने योजनाहरु लिएर प्रदेश राजधानी आउन आग्रह गर्दै उहाँले दरबन्दी र कितावखानामा दर्ता गर्ने विषयमा आफुले संघीय सरकारमा पहल गर्ने बताउनु भयो । बिना दरबन्दी अस्पताल संचालन भएको प्रति आश्चर्य प्रकट गर्दै आफ्नो तर्फबाट गर्न मिल्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।


त्यस अघि अस्पतालका कार्यकारी निर्देशक डा। प्रकाशप्रसाद साहले बिगत ९ वर्ष देखि दरबन्दी बिना काज र दैनिक ज्यालादारी कर्मचारी र चिकित्सकहरुबाट अस्पताल संचालन भइरहेको, अस्पतालको जनशक्तिलाई निजामती कितावखानामा दर्ता नगरिँदा स्वास्थ्यकर्मीहरु टिकाउन असहज बनेको, चिकित्सक तथा नर्सहरुको आवास नहुँदा सेवा प्रभावित बनेको जस्ता समस्याहरु प्रस्तुत गर्नु भएको थियो । डा.साहले प्रबिधि, स्रोत, साधन हुँदाहुँदै पनि जनशक्तिको ब्यवस्थापन नहुँदा संचालनमा असहज बनेको जानकारी गराउनु भयो । अवलोकनमा प्रदेशसभाका सदस्य रत्न खत्री, लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थ, बर्दिया र बाँकेका सांसदहरुको सहभागीता रहेको थियो ।