तुल बहादुर कवँर मगर
भालुबाङ, २१ असोज ।
दाङको राप्ती गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूलाई भवन निर्माण मापदण्ड तथा भवन संहिता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आइतबार प्रदान गरिएको छ।
राप्ती गाउँपालिका पूर्वाधार विकास तथा भवन नियमन शाखाको आयोजनामा सो अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हो। अभिमुखीकरण कार्यक्रममा भवन निर्माणका मापदण्ड, भवन संहिता र अन्य कानुनी प्रावधानहरूको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
त्यस्तै कार्यक्रममा गाउँपालिकामा भवन निर्माण गर्दा आउने समस्याहरू र तिनको समाधानका उपायहरूका बारेमा समेत छलफल गरिएको बताइएको छ ।
राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सुरक्षित र मापदण्डअनुसारका भवन निर्माणमा प्राविधिक कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै यो अभिमुखीकरण कार्यक्रमले उनीहरूलाई थप दक्ष र सक्षम बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रदेश राजधानी कार्यान्वयन इकाईका इन्जिनियर विश्व रेग्मी र राप्ती गाउँपालिका भौतिक पूर्वाधार शाखा प्रमुख अशोक बेल्वासेले भवन संहिता र मापदण्डको पालना नगर्दा हुन सक्ने सम्भावित जोखिमहरूबारेमा जानकारी गराउँदै भवन निर्माणका नवीनतम प्रविधिहरूको प्रयोग लगायत अन्य विभिन्न विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
गाउँपालिकामा कार्यरत इन्जिनियर, ओभरसियर र अन्य प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रमको सहजीकरण गाउँपालिकाकी असिस्टेन्ट सव इन्जिनियर बिमला भट्टराईले गर्नु भएको थियो । यस कार्यक्रमले गाउँपालिकामा भवन निर्माण कार्यलाई अझ व्यवस्थित, सुरक्षित र दिगो बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
लाइभदाङ । २१ आश्विन २०८१, सोमबार १८:०५ बजे