नवलपरासी, १० असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्ता क्षेत्रका किसानहरु अहिले पनि लालपुर्जा बिहिन भएको तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको छ । खेतीपाती गर्दै आएका किसानहरु अहिले पनि जग्गाको लालपुर्जा बिहिन हुनु परेको प्रति नेपाल सरकारको ध्यानाकर्षण गराउदै छिटो लालपुर्जा वितरणको लागि आग्रह गर्नु भएको हो ।
सुस्ता स्थित नारायणी नदिमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुस्ता क्षेत्रका किसानको समस्या समाधान गरिने बताउनु भएको हो ।“अहिले पनि सुस्ताका किसानको हातमा जग्गाको लालपुर्जा छैन । नागरिकताको समस्या उस्तै छ” उहाँले भन्नुभयो “यहाँका किसानहरुको समस्या समाधान गर्न म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । प्रदेश सरकारबाट हुने हरेक कामहरुमा सुस्ता क्षेत्र प्राथमिकतामा छ, प्राथमिकतामा पर्ने छ ।” यस्तै मुख्यमन्त्री आचार्यले नारायणी नदिमा बनेको झोलुंगे पुलले सुस्तामा बसोवास गर्नेहरुलाइ सबै हिसाबले समृद्ध बनाउने आशा व्यक्त गर्नु भयो । “शिक्षा, स्वास्थ्य, कृषि र अन्य सुविधामा अव सुस्ता क्षेत्र अघि बढ्यो” उहाँले भन्नुभयो “अब सुरक्षित यात्रा सम्भव भयो । अब पर्यटनको क्षेत्रमा पनि यहाँको नाम अघि आउने भयो ।”
राष्ट्रपती रामचन्द्र पौडेलले सुस्तामा बनेको झोलुंगे पुलेको उद्घाटन गरिसक्नु भएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित सुस्ता गाउँपालिका–५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर(सुस्ता) मल्टिस्पान झोलुंगे पुलको उद्घाटन गरिएको हो । साथै सुस्ता क्षेत्रमा एकिकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपुर्ती समेत सुभारम्भ गरिएको छ ।
नेपाल सरकार, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको आयोजनामा कार्यक्रम राखिएको छ । कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर लगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता छ ।
झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ । सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोवास छ । यो पुल बन्नु अघि स्थानीयहरु डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । बर्षायाममा उच्च वहाव हुँदा नदि तर्न जोखिमपूर्ण हुने गरेको थियो ।
डुंगा दुर्घटना हुदा मानवीय क्षती समेत व्यहोर्नुपरेको थियो । एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुल भ्याट बाहेक २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो । यो पुल बनेपछी सुस्तापट्टी उत्पादन हुने उखु र केरा दायाँ किनारमा ल्याउन र बजारको पहुँचमा सहजता हुने देखिएको छ । यो पुलको दायाँ किनारमा सकरदिनही र वायाँ किनारमा सुस्ता पर्दछ ।
लाइभदाङ । १० आश्विन २०८१, बिहीबार १८:४८ बजे