रुकुम पश्चिममा खोलाले बगाउँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु

रुकुम पश्चिम, २४ भदौ । रुकुम पश्चिमममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ६ र ७ को सिमानामा रहेको रम्माखोलाले बगाउँदा मोटरसाईकलमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार मुसिकोट नगरपालिका वडा नम्वर ४ निवासी ५० वर्षीय सर्जन पुन र वडा नम्वर ६ निवासी अन्दाजी ३२ बर्षीया निर्मला केसी थापाको मृत्यु भएको हो ।

रा ६ प २९६१ नम्वरको मोटरसाईकलमा साँखबाट कानेबाङतर्फ जाँदै गर्दा आईतबार बेलुका करिब साढे आठ बजे खोलाले बगाएको र सोमबार बिहान मात्र थाहा भएको प्रहरीले जनाएको छ ।


घटनास्थलमै रहनुभएका प्रहरी निरक्षिक शाहीले खोलाले मोटरसाईकलसहित बगाउँदा दुवै जनाको मृत्यु भएको र पुरिएको अवस्थामा शव फेला परेको बताउनुभयो ।

खोलाभन्दा करिब तीन सय मिटर तल महिला र  करिब २० मिटर तल पुरुषको शव फेला परेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । पुरुषको शव मोटरसाईकलले च्यापिएको महिलाको शवको केहि भाग पुरिएको अवस्थामा फेला परेको थियो ।

अहिले प्रहरीले शव निकालेर घटनास्थल प्रकृति मुचुल्का तयार गरिरहेको छ ।