अनेम संघ (क्रान्तिकारी) राप्तीद्वारा भदौ १३ गते तीज विशेष कार्यक्रम आयोजना गरिँदै

देउखुरी, ११ भदौ ।
हरितालिका तीजको अवसरमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिका कमिटीले आगामी भदौ १३ गते तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

संघले महिलाहरुको सांस्कृतिक, सामाजिक र धार्मिक पहिचानलाई उजागर गर्दै उनीहरुबीच एकता र सद्भावलाई बढावा दिन कार्यक्रमको आयोजना गर्न लागेको संघकी अध्यक्ष दुरपती चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा महिलाहरुले परम्परागत भेषभूषामा सजिएर तीजका गीतमा नाचगान गर्ने, सामूहिक दर खाने र विभिन्न सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ । त्यस्तै कार्यक्रममा महिलाहरुको सशक्तिकरण, समानता र अधिकारको प्रवर्द्धनका विषयमा पनि छलफल हुने अध्यक्ष चौधरीले बताउनुभयो।


राप्ती गाउँपालिका वडा नम्बर २ बराखुटी स्थित करम्दी सामुदायिक वन उपभोक्त समितिको भवनमा बिहान १० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा सहभागी भएर आफ्नो संस्कृति र परम्पराको जगेर्ना गर्न संघकी अध्यक्ष चौधरीले पालिकाबासी सम्पूर्ण महिलाहरुलाई आग्रह गर्नु भएको छ।

त्यस्तै कार्यक्रमले महिलाहरुबीच आपसी एकता र भाइचारा बलियो बनाउने विश्वास गरिएको छ।कार्यक्रममा विभिन्न समाजसेवी, राजनीतिकर्मी र स्थानीय नेतृहरुको उपस्थिति रहने बताइएको छ।