विद्यार्थीहरूद्वारा मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

तुलसीपुर, ८ भदौ  ।
वरिपरि हरियो जङ्गल बीचमा रहेको सुन्दर मन्दिर र त्यसको को वरिपरि प्राङ्गणमा विद्यार्थीहरू हातमा हँसिया र डस्टबिन बोकेर सरसफाई कार्यमा व्यस्त रहेका थिए। यो दृश्य हो,‌ तुलसीपुर ९ थर्कुडाँडामा रहेको त्रिशक्ति शिव मन्दिरको।

तुलसीपुर ९ बेलुवा स्थित सप्तरङ्गी इंग्लिश स्कूल तथा सक्सेस इको क्लबको आयोजनामा मन्दिर सरसफाई तथा सहयोग कार्यक्रम सम्पन्न गरिएको हो। विद्यालयले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको विकासका लागि उक्त सरसफाई कार्यक्रम आयोजना गरिएको जानकारी विद्यालयका प्रिन्सिपल प्रदिप ओलीले दिनुभएको छ।

सरसफाई कार्यक्रमपछि आयोजित औपचारिक कार्यक्रमका प्रमुख अतिथि त्रिशक्ति शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनोद अधिकारीले यही भदौ १० गते कृष्ण जन्माष्टमीको अवसरमा मन्दिर परिसरमा नवनिर्मित राधाकृष्ण मन्दिरको उद्घाटन तथा पूजा कार्यक्रम आयोजना गरिएकोले सम्पूर्ण भक्तजनहरूमा निमन्त्रणा आह्वान गर्नुभएको थियो।


कार्यक्रमका सभापति ललितजंग शाहले धार्मिक क्षेत्रहरूको संरक्षण गर्नु सबैको दायित्व रहेको तथा विद्यार्थीहरूलाई सानो उमेरबाटै सामाजिक कार्यमा समावेश गराउनुपर्ने कुरामा जोड दिनुभएको थियो। विद्यालयले मन्दिर व्यवस्थापन समितिलाई कार्यालय व्यवस्थापनका लागि कुर्सीहरू सहयोग गरेको थियो।

विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूको सहभागितामा विभिन्न समयमा टोल सरसफाई, चेतनामूलक कार्यक्रम तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी विद्यालयका सहायक प्रिन्सिपल गोपाल गिरीले दिनुभएको छ। उक्त कार्यक्रममा विद्यालयका कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूको उपस्थितिमा सम्पन्न गरिएको थियो।