मनसुन बिहीबारसम्म सक्रिय हुने : चार प्रदेशका ३४ जिल्ला बाढीपहिरोको उच्च जोखिममा

काठमाडौं, १७ असार ।
बर्खे वर्षा बिहीबारसम्म लम्बिने भएको छ । न्यूनचापीय रेखा नेपालको दक्षिण भूभाग (दिल्लीभन्दा उत्तर) रहेको र थप नेपालनजिक (सीमाआसपास रहने) भएकाले देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाले २० असारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने भएकाले बाढीपहिरोको जोखिमको पनि चेतावनी दिएको छ । ‘पूर्वमा २८ जेठदेखि पानी परिरहेको थियो । तीन दिन आइतबारसम्म गण्डकी र लुम्बिनी क्षेत्रमा पनि धेरै पानी परेको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘अब पश्चिमसहित देशभर पानी पर्ने देखिन्छ ।’

बिहीबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका एक‍–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भीषण (भारी) वर्षाको सम्भावना रहेको उनले बताइन् । साथै, कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भीषण (धेरै भारी) वर्षाको समेत चेतावनी दिइएको छ । नेपालमा १४ असारदेखि देशभर मनसुन सक्रिय छ । मनसुन सक्रिय भई वर्षा हुँदा बाढीपहिरोका घटना पनि बढेका छन् ।

३४ जिल्ला उच्च जोखिममा
वर्षाका कारण बाढीपहिरोको जोखिम पनि बढेको छ । यसमध्ये पनि भीषण वर्षाको आकलन गरिएका र यसअघिबाट पनि वर्षा भइरहेका प्रदेशका ३४ जिल्लालाई महाशाखाले रेड जोन (उच्च जोखिम) मा राखेको छ । रेड जोन अर्थात् बाढीपहिरोको जोखिम धेरै रहेका जिल्ला कोशीमा १३ वटा छन् । कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा विपत्को जोखिममा छन् ।

यसैगरी, बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा पनि रेड जोनमा छन् । गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवपरासी पूर्व र लमजुङलाई पनि महाशाखाले रेड जोनमा राखेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले वर्षाले बाढीपहिरोको जोखिम निम्त्याउन सक्ने भएकाले अलर्ट रहन गृह मन्त्रालयमार्फत सुरक्षा निकायलाई भनिएको बताए । ‘जोखिमपूर्ण ठाउँबाट अस्थायी आवासमा मिलाउन पनि पालिका र प्रमुख जिल्ला अधिकारीलाई भनेका छौँ,’ उनले भने ।


२६ जिल्ला मध्यम जोखिममा
महाशाखाका अनुसार यो पाँच दिनको अवधिमा लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि रेड जोनमा छन् । कोशीको उदयपुर तथा मधेशको सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीलाई मध्यम जोखिममा राखिएको छ ।

गण्डकीको मनाङ पनि मध्यम जोखिममा छ । त्यस्तै, लुम्बिनीको बाँके, बर्दिया र दाङ, कर्णालीको दैलेख, सुर्खेत र सल्यान मध्यम जोखिममा परेका छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, दार्चुला, बझाङ र बैतडीलाई पनि मध्यम जोखिममा राखिएको छ ।

चार दिन भीषण वर्षाको सम्भावना : कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका एक‍–दुई स्थान
चार दिन अति भारी वर्षाको सम्भावना : कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थान
सोमबार : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा हुन सक्ने । कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना ।

मंगलबार : देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने ।