
तुल बहादुर कवँर मगर
भालुबाङ, १२ असार ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय मौरीघाटका विद्यार्थीहरुले सामूहिक रुपमा बेसार खेती गर्न शुरु गरेका छन् । मुख्यमन्त्री नवप्रवर्धन साझेदारी कार्यक्रम अन्तर्गत उनीहरूले विद्यालयको करिब १५ कठ्ठा जग्गामा सो खेती गर्न शुरु गरेका हुन् ।
विद्यालय र विद्यार्थीको आम्दानीको स्रोत बन्ने र सिपको समेत विकास हुने हुदा सो खेती गर्न शुरु गरेको विद्यार्थीहरुको भनाइ रहेको छ । सधै पढाइ लेखाइमा मात्र सिमित हुने विद्यार्थीहरु कृषि कर्ममा समेत जोडिन पाउँदा खुसी समेत भएका छन्। सो खेतीमा विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुको सहभागीता रहेको छ ।
बेसार खेतीबाट पढ्दै कमाउँदै कार्यक्रममा समेत टेवा पुग्ने विद्यालयका शिक्षक केशवराज आचार्यले जानकारी दिनुभएको छ । यसरी उत्पादन गरि बिक्री भएको कुल आम्दानीको ५० प्रतिशत विद्यार्थीहरुलाई र ५० प्रतिशत विद्यालयको कोषमा जम्मा गरिने शिक्षक आचार्यले बताउनुभयो ।
नगदे बालीको रुपमा अन्य खेती गर्न सकिने भए तापनि कम मेहनत र राम्रो बजार भएकोले विद्यार्थीहरुले बेसार खेती नै रोजेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बीर बहादुर चौधरीले बताउनुभयो ।
यस वर्ष मुख्यमन्त्री नवप्रवर्धन साझेदारी कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिकाले प्रपोजल पेश गरेको र उक्त कार्यक्रममा छनोट भई गाउँपालिकाको विभिन्न वडामा किसान समूह बनाई किसानहरुलाई बेसार खेती गर्न प्रोत्साहन गरेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताउनु भएको छ।
त्यस्तै अध्यक्ष विष्टले सो खेती गर्नका लागि ५० प्रतिशत अनुदानमा बेसारको बिउ र प्राङगारिक मल पालिकाले उपलब्ध गराउने र उत्पादित बस्तु समेत खरिद गर्ने बताउनुभयो। यस अघि नै गाउँपालिकाले विद्यार्थीहरुलाई बेसार खेती सम्बन्धी तालिम समेत प्रदान गरेको थियो।



लाइभदाङ । १३ असार २०८१, बुधबार ०७:५८ बजे