रुकुममा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

रुकुम पश्चिम, २८ जेठ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ निपानेमा गाडि दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ का २७ वर्षिय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भागोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षिय धर्मेन्द्र श्रेष्ठ र सुर्खेतकै बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षिय जितबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार मुसिकोटको खलंगाबाट बाँफिकोट गाउँपालिका–४ छिनखेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०४१३ नम्वरको डबल क्याप बोलेरो गाडि आईतबार बेलुका साढे ८ बजे सोलाबाङ देखि धाउने जोड्ने भित्रि सडकखण्डमा दुर्घटना भएको हो ।


दुर्घटना लगत्तै घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाइएपनि उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा परी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षिय सुजन विक, बर्दियाको ठाकुरबाबा नगरपालिका–५ का २६ वर्षिय दिलीप थापा र सोहि ठाउँका २७ वर्षिय टीकाराम खनाल घाइते भएका छन् । घाईते तिनैजनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

दुर्घटनामा परेको गाडि इन्टरनेट सेवा प्रदायक संस्था वल्ड लिङ्क कम्युनिकेसनको रहेको प्रहरीले बताएको छ ।