राप्ती सहित दाङका ६ स्थानीय तहमा आजदेखि पोलियो विरुद्धको आइपिभि खोप अभियान शुरू

तुल बहादुर कवँर मगर
देउखुरी, २२ जेठ।
दाङ देउखुरीको राप्ती गाउँपालिका सहित जिल्लाको ६ स्थानीय तहमा आजदेखि पोलियो विरुद्धको आइपिभि खोप अभियान सञ्चालन भएको छ।

वि.सं २०७३ बैशाखदेखि २०७५ साल असोजसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन थालिएको हो।

जिल्लामा दोस्रो चरणको खोप अभियान अन्तर्गत जेठ २२ गतेदेखि २६ गतेसम्म घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बङ्गलाचुली, राप्ती, गढवा र राजपुर गाउँपालिकामा खोप अभियान शुरु गरिएको स्वास्थ्य कार्यालय दाङका खोप संयोजक झग्गुप्रसाद आचार्यले बताउनुभयो ।

आचार्यका अनुसार तुलसीपुर उपमहानगरपालिका,शान्तिनगर,दङ्गीशरण र बबई गाउँपालिकामा पहिलो चरणको खोप अभियान अन्तर्गत जेठ १३ गतेदेखि १७ गतेसम्म खोप अभियान सम्पन्न भई सकेको छ।


खोप अभियान अन्तर्गत राप्ती गाउँपालिकामा २ हजार ३ सय ९६ जना बालबालिकालाई खोप लगाउन थालिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो ।

खोप अभियानलाई सफल बनाउन शाखाले पालिका अन्तर्गत रहेका विभिन्न सरकारी स्वास्थ्य संस्था तथा विद्यालयहरुमा खोप केन्द्र निर्धारण गरिए खोप कार्यक्रम अघि बढाइएको शाखा प्रमुख राउतले जानकारी दिनुभयो ।

यसैबीच राप्ती गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक प्रकाश विष्टले पोलियो विरुद्धको खोप बालबालिकाहरुको लागि निकै महत्त्वपूर्ण खोप रहेको बताउदै लक्षित उमेर समूहका बालबालिकाहरु नछुट्ने गरि अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी तथा आम पालिकावासीहरुलाई आग्रह गर्नुभएको छ।