रोल्पा दुर्घटना : मृत्यु हुने तीन जनाको पहिचान खुल्यो

दाङ, ३ मंसिर ।  दाङबाट रोल्पाकालागि जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ । रोल्पाको माडी गाउँपालिका वडा नं. ४ जलजलामा भएको यात्रुबहाक बस दुर्घटना हुँदा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो ।

ति मध्ये परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय कुमार पुन, वडा नं १ बस्ने २९ वर्षीय दीपक रोकाको पहिचान भइसकेको छ । भने महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण राणाले बताए । ति महिला २०/२२ बर्षजस्तो देखिन उनले बताए ।


थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस विहीबार साँझ पौने ६ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । ति मध्ये पाँच जनाको थप उपचारकालागि भैरहवा रेफर गरिएको छ । एक जनाको अबस्था गम्भीर छ । त्यस्तै ११ जनाको जिल्ला अस्पताल रोल्पा र ३ जनाको प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा उपचार भइरहेको छ । उनीहरुको अबस्था भने सामान्य रहेको छ । बाटो ओरालो र आफ्ट्यारो भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक राणाले बताए । बस सडकदेखि २०० मिटर फिट तल खसेको छ ।