मावि सौडियारको सूचना अधिकारीमा शिक्षक मोतिलाल केसी चयन

दाङ, १६ जेठ ।
दाङको घोराही ७ सौडियारस्थित पुरानो र जेठो सामुदायिक विद्यालय माध्यमिक विद्यालय सौडियारको सुचना अधिकारी छनौट गरिएको छ । विद्यालयका निमित्त प्रधानाध्यापक नन्दबहादुर वलिको अध्यक्षतामा बसेको शिक्षक/शिक्षिकाहरुको बैठकले विद्यालयका शिक्षक मोतिलाल केसीलाई सुचना अधिकारिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

केसीले विद्यालयमा ३५ वर्षदेखि अनबरतरुपमा अध्यापन गराउदै आएका छन । विद्यालयका हरेक गतिविधिका सुचना र विद्यालयका बारेमा कसैले जान्न चाहेमा सुचना अधिकारीलाई सम्पर्क गर्न सकिनेछ । घोराही उपमहानगरमा सामुदायिक विद्यालयमा सुचना अधिकारी तोक्ने पहिलो विद्यालय मावि सौडियार बनेको छ ।


शिक्षा मन्त्रालयको परिपत्र अनुसार घोराही उपमहानगरपालिकाले उपमहानगरभित्र रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको थियो ।

नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनी उल्लेख भएको व्यवस्था र त्यही व्यवस्था कार्यान्वयन गर्न ल्याइएको सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ मा भएका व्यवस्थाहरूको कार्यान्वयन गर्नु प्रत्येक सार्वजनिक निकायको दायित्व हुने भएकाले पनि हरेक विद्यालयमा सूचना अधिकारी हुनुपर्ने व्यवस्था अगाडि बढाइएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले बताए ।