तुलसीपुर, १६ जेठ ।
तुलसीपुर नगर जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत बुधबार विद्यार्थीलाई लागूऔषध दुर्व्यसन र साइबर अपराधबारे सचेतना प्रदान गरिएको छ । नगर जेसिजले करिब १०० जना विद्यार्थीलाई लागूऔषध दुर्व्यसनका असर र साइबर अपराधबारे सचेतना प्रदान गरेको हो ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १८ का अध्यक्ष माधव वलीले देश र समाज समृद्ध हुन नैतिकवान र दक्ष जनशक्ति आवश्यक रहेको बताउनुभयो ।
उहाँले जेसिजले आयोजना गरेको कार्यक्रमले विद्यार्थीलाई समाजमा बढ्दो लागूऔषध दुर्व्यसनबाट बचाउन र प्रविधिको गलत प्रयोग गर्नबाट रोक्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई आफुले सिकेका सकारात्मक कुरा अरु साथीभाईलाई शेयर गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नयाँ पाइला पुर्नस्थापना केन्द्र बिजौरीका उपाध्यक्ष तथा मनोपरामर्श विद् शैलेश शर्माले लागूऔषध दुर्व्यसनको लतबाट बच्न सचेत हुनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई लागूऔषध दुर्व्यसनले पार्ने असरबारेमा सचेतना गराउँदै लागूऔषधदुर्व्यसनका कारण जीवन अन्धकारतर्फ धकेलिने बताउनुभयो ।
यसैगरी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (डिएसपी) ठाकुरप्रसाद पोखरेलले सामाजिक संजालको दुरुपयोग नभई सदुपयोग गरेर धेरै फाइदा लिन सकिने बताउनुभयो । उहाँले पछिल्लो समय प्रहरीमा साइबार अपराधका मुद्धा दर्ता हुने बढ्दै गएकोले यसबाट बच्न विद्यार्थीलाई आग्रह गर्नुभयो । यस्तै पूर्वअध्यक्ष दिपेश भण्डारीले समाजलाई सहि मार्गमा लैजानका लागि जेसिजले विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने गरेको बताउनुभयो ।
तुलसीपुर नगर जेसिज वर्ष २०२४ का अध्यक्ष पूर्णबिक्रम डाँगीको अध्यक्षता तथा वडा अध्यक्ष माधव वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जेसिज उपाध्यक्ष मधुसुदन गौतमले आस्थापाठ गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि जेसिज सप्ताह मुल संयोजक सुरज भण्डारीले प्रकाश पार्नुभएको हो । कार्यक्रम संयोजक सजित रावतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव कमल प्रकाश शर्माले गर्नुभएको हो ।
लाइभदाङ । १६ जेष्ठ २०८१, बुधबार २१:१६ बजे