
दाङ,१५ पुस ।
दाङको घोराहीको बजार भित्रको सडक स्तरोन्नतीको काम सुरु भएको १० वर्ष भयो । तर, अझै पूरा हुन सकेको छैन । बजार भित्रैको सडकमा खाल्डा–खुल्डी हुँदा आवतजावतमा निकै समस्या छ । दुई वर्षमा सक्नु पर्ने गरि २०७१ भदौ ११ गते सम्झौता भएपनि पटक–पटक म्याद थप गरि २०८२ को असारमसान्तमा सक्ने गरि पुनः पाँचौ पटक सम्झौता भएको छ । कान्छाराम कन्ट्रक्सनले उक्त ठेक्का पाएको थियो । तर, धेरै सुस्त तरिकाले काम गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले बताए । ‘१० वर्ष अघिको ठेक्का हो, पावरफुल मान्छेको ठेक्का भएकाले पनि रहेछ, कारवाही गर्न पनि गाह्रो भएको छ’,उनले भने‘म दुई वर्ष जिल्ला बाहिर पनि कार्यरत रहेँ, म जाँदा जस्तो थियो, म पुनः सडक डिभिजन दाङ आउँदा पनि उस्तै थियो ।’ जुन ठेक्का संघीय सरकार उर्जामन्त्री पूर्णबहादुर तामाङ‘कान्छाराम’को हो ।
पछिल्लो समय काम भने अगाडी बढिरहेको उनको भनाई थियो । उनले करिब ९० प्रतिशत जति काम पूरा भएको बताए । कटुवाखोलादेखि सिटी प्लाजासम्मको एक हजार चार सय ५० मिटर सडकमा राम्रो स्तरको पिचको काम गर्न ११ करोड ६४ लाख १२ हजार छ सय ५३ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
कान्छाराम/शंकरमाली कोटेश्वर काठमाडौंसँग सडक डिभिजन कार्यालय दाङले २०७२ असोज ३० गते सक्नुपर्ने सम्झौता गरेको हो । तर, समयमा काम नभएपछि पटक–पटक विरोध हुने गरेको छ । सडक कार्यालयमै गएर धर्ना तथा ताला बन्दी समेत हुने गरेको छ । ८ फागुन २०७९ मा बिभिन्न टोल तथा संघसंस्थाहरुले कार्यालयको मुल गेटमै ताला लगाए । त्यसपछि ट्राफिकचोकमा ढलानको काम शुरु भएको थियो ।
म्याद थप्दा पनि अलपत्र
दाङको कल्याङकोट–कालाकाँटे–गोबरडिया सडक पनि पटक–पटक म्याद थप्न मै ठिक्क छ । यो दुई वर्षअघि नै सक्नु पर्ने भएपनि अहिले त्यो काम अलपत्र छ । जुन कामको जिम्मेवारी कान्छारामले नै लिएको थियो । कान्छाराम र बज्रगुरु कन्स्ट्रक्सनले संयुक्त रूपमा २९ कात्तिक ०७६ मा ठेक्का पाएको थियो । जुन सडकको काम पूरा नभएपछि आगामी असार मसान्तसम्मका लागि म्याद थपिएको छ । ठेक्का सम्झौता हुँदा सडक २८ कात्तिक ०७९ मा निर्माण भइसक्नुपर्ने सर्त थियो । हालसम्म यो सडकखण्डमा ३५ प्रतिशत मात्रै काम सकिएको हुलाकी राजमार्ग आयोजना बाँकेले जनाएको छ । सडकको लागत ६७ करोड ३७ लाख ५३ हजार छ । तेस्रोपटक म्याद थपेर काम सक्ने समयावधि ३० असार ०८२ मा पुर्याइएको छ । तर, थपिएको समयमा पनि निर्माण पूरा हुने सम्भावना नभएको हुलाकी राजमार्ग कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारीले बताए । यो सडक निर्माणका लागि ६७ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको हो । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । १५ पुष २०८१, सोमबार १७:५२ बजे