विकासे आयोजनाका काम तिब्रगतिमा भईरहेका छन्ः वडा अध्यक्ष सुवेदी

प्रिया स्मृती गजमेर
लमही, ७ जेठ ।
लमही नगरपालिका–५ मा विकासे आयोजनाका काम धामधम भैरहेका छन । कतै आयोजनाका काम निर्माण सम्पन्न भैसकेका छन भने कतै अन्तिम चरणमा रहेको वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताउनु भयो ।

वडा नम्बर ५ को कोलहीदेखि बसन्तनगरसम्म जाने कच्ची बाटोलाई खोलाले कटान गर्दा आवतजावत गर्न समस्या भएको थियो सो स्थानमा लमही नगरपालिकाबाट तटबन्ध निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको थियो । त्यहाँ तटबन्ध र १ सय ७५ मिटर पक्कि नाला निर्माण कार्य भैरहेको छ भने सोहि ठाउँमा १० लाख बजेट विनियोजन गरेर १ सय मिटर सडक कालोपत्रे हुने भएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त २० लाख बजेटबाट आनन्द नगर टोलमा ४ सय मिटर नाली तथा बाटो ग्रेभलको काम हुँदै छ । शहरी विकास मार्फत आएको ७० लाख बजेटले कृपा मेडिकल नजिक भएर बग्ने ढलको निकासका लागि ढल निर्माणको कार्य तिब्रगतिमा भैरहेको छ । कृपा मेडिकल भएर बग्ने ढललाई लोटिया सोतामा झार्ने गरि काम भैरहेको वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताउनु भयो ।

त्यसैगरी आदर्श टोलमा पानी निकासका लागि १८ लाख बजेट विनियोजन भएर काम भैरहेको वडा नम्बर ५ का वडा सदस्य हरिराम चौधरीले जानकारी दिनु भयो । शहरी विकासबाट प्राप्त भएको २० लाख बजेटले गोरक्ष टोलमा १ सय ७ मिटर रेटेनिंग वाल निर्माणको काम अन्तिम चरणमा पुगेको वडा सदस्य चौधरीले बताउनु भयो ।


गोरक्ष टोलमै ४ लाख ५० हजार बजेटबाट २ सय मिटर पक्कि नाली निर्माण भैरहेको छ । अन्य स्थानमा आगामी बजेटले छुने गरेर आयोजनाहरु संचालन हुने वडा अध्यक्ष सुवेदीको भनाई छ । एकै पटक चारैतिर बजेट कनिका छितारे जस्तो नगरौं, आवश्यकता के हो भनेर रामोसंग बुझेर मात्र बजेट हालौं भन्ने सल्लाहबाट हामीले काम गरेका हौँ’ उहाँले भन्नु भयो ।

पाइला–पाइला विकास गर्न सम्भव छैन, त्यो गर्नका लागि संघ र प्रदेशले ठुलो आकारको बजेट पालिकामा पठाउन पर्छ अनि मात्र सम्भव छ । बजारमा जे–जस्तो हल्ला चलेता पनि नगरपालिकाले आयोजनाका काम गरेको छ, एकै पटक कायापलट हुँदैन, क्रमिक रुपमा जनताका चाहाना पुरा गर्नेमा हामी लागेका छौं’ वडा अध्यक्ष सुवेदीले भन्नु भयो ।