सीपले मानिसलाई आत्मनिर्भर बनाउछ : नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
लमही,२३ बैशाख ।
लमही नगरपालिका– ५ को आयोजना, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को सहयोगमा ४५ दिने होजियारी सम्बन्धि (बुनाई) सीप विकास तालिम शुक्रबार देखि लमहीमा शुरु भएको छ । ‘सीप सिकौं आत्मनिर्भर बनौं ’भन्ने मुख्य नारा रहेको यस कार्यक्रम नगरपालिकाका अन्य वडाहरुमा पनि संचालित रहेका छन् ।

तालिमको उद्घाटन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सीपले मानिसलाई आत्मनिर्भर बनाउने बनाउनुभयो । ‘हरेक ठाउँमा सीपको कदर हुन्छ, सम्मान हुन्छ र रोजगार पाइन्छ’ उहाँले भन्नु भयो । जीवन निर्वाह गर्नका लागि सीप अत्यन्तै आवश्यक भएको बताउदै नगर प्रमुख चौधरीले राज्यका तर्फबाट प्रदान हुने यस्ताखाले सीपलाई ग्रहण गर्नु पर्ने उहाँको भनाई छ ।

पालिकाले अन्य वडाहरुमा पनि फरक फरक प्रकारका तालिम प्रदान गर्दै आएको छ । कतै होजियारी तालिम, कतै च्याउ उत्पादन कतै साबुन उत्पान जस्ता सीपयुक्त तालिम पश्चात सहभागीहरुले व्यावसायिक रुपमा लाग्नु भएको लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताउनुभयो। ‘बेरोजगार भएर घरमा बसेका महिलाहरुलाई सीप प्रदान गरि उद्यमी बनाउने हाम्रो लक्ष्य हो’ उपप्रमुख योगीले भन्नु भयो ।


त्यसैगरी लमही नगरपालिका-५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले लघु उद्यम विकास कार्यक्रमले रोजगारको सिर्जना गरेको बताउनुभयो । तालिम लिएर धेरैले आफ्नो व्यवसाय गरेको भन्दै आगामी दिनमा लघु उद्यम विकास कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडी लैजानु पर्ने बताउनु भयो ।

कार्यक्रममा लमही नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा ठेडी, वडा नम्बर ५ का वडा सदस्य केशवराज अधिकारी,  गोरक्ष टोल विकास समितिका अध्यक्ष कृष्ण थापा लगायतको उपस्थिति रहेको थियो ।