राप्तीमा ज्येष्ठ नागरिक दिवासेवा केन्द्र, सुख दुःख बिसाउने थलो

तुल बहादुर कवँर मगर

देउखुरी,१८ वैशाख।
दाङ देउखुरीको राप्ती गाउँपालिकामा सञ्चालित ‘ज्येष्ठ नागरिक दिवासेवा केन्द्र’ ज्येष्ठ नागरिहरुको सुखदुःख बिसाउने थलो बनेका छन्।

राप्ती गाउँपालिका वडा नं.३ मसुरीयाका ८४ वर्षीय बालानन्द खनाल गाउँमा सञ्चालन भएको दिवासेवा केन्द्रमा दैनिक आउने गर्नुहुन्छ।

त्यहाँ आफूसँग उमेर मिल्ने साथी भाईहरुसँग भलाकुसारी गर्न, सुखदुःख बाँड्न, भजनकीर्तन गर्न, नाचगान गर्न तथा कथाव्यथा सुन्न र सुनाउन पाउदा उहाँलाई आनन्द लाग्ने गरेको बताउनु हुन्छ। लट्ठीको सहारामा दिवासेवा केन्द्र पुग्न पाउँदा खनाल औधी खुसी देखिनु हुन्छ।

उहाँ भनुहुन्छ, ‘पढ्न जान्ने र आँखाले साथ दिने साथीले रामायण महाभारतका श्लोक पढेर सुनाउँछन्,यो सुन्दा आन्नद आउँछ।’

घरपरिवारका सदस्य दिउँसो काममा व्यस्त हुँदा एक्लै बस्न पट्यार लाग्ने र समय बिताउन गाह्रो हुने भएकाले केन्द्र पुग्ने खनालको भनाई छ। ‘यहाँ आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ’, उहाँले भन्नुभयो। गाउँपालिकाले पालिका अन्तर्गतका वडाहरुमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरेपछि त्यो दैनिक भेटघाटको थलो बनेको हो।

राप्ती गाउँपालिका वडा नं.८ पिपरीकी कलावती चौधरी उमेरले ७८ वसन्त पार गर्नुभयो।अचेल उहाँको दैनिकीमा परिवर्तन आएको छ।

राप्ती-८ को पिपरीमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा नगइ उहाँको मन मान्दैन। चौधरीलाई बिहान ११ बजे दिवा सेवा केन्द्रमा पुगिसक्नुपर्छ, त्यहाँ पुगेपछि दुःख पीडा भुल्ने गरेको उहाँ बताउँनुहुछ।

‘आफूसँगैका साथीसँग भेट हुन्छ। धेरै वर्षदेखि भेट् नभएका आफन्त र साथीसँग भेट हुँदा आनन्द आउँछ’, चौधरीले भन्नुभयो। वर्षौँसम्म भेट नभएका साथीसँग भेट हुँदा र भलाकुसारी गर्न पाउँदा उहाँ दङ्ग हुनुहुन्छ। उहाँहरु दिवा सेवा केन्द्रमा आएर रमाइलो गर्ने गर्नुहन्छ।


गाउँपालिकाको सहयोगमा अहिले पालिकाको अधिकाशं वडाहरुमा सेवा केन्द्र सञ्चालनमा छ।

राप्ती गाउँपालिका वडा नं.२ का पदम रिजाललाई एकदिन पनि केन्द्र छुट्ट्याउन मन लाग्दैन ‘केन्द्रमा पुराना साथी भेट हुन्छन्, आफ्ना दुःखसुख साट्न पाइन्छ, मलाई त घरमा बस्न मन लाग्दैन’, उहाँले भन्नुभयो।रिजाल पालिकास्तरीय जेष्ठ नागरिक सञ्जालको समेत अध्यक्ष हुनुहुन्छ। घरमै बसेका ज्येष्ठ नागरिकलाई केन्द्रसम्म आउन सहजीकरण गरिरहेको उहाँले बताउनुभयो।
‘आफूजस्तै साथी भेटिएपछि मनका कुरा गर्दा मन भुल्दो रहेछ, नाचगान गर्दा झनै रमाईलो हुन्छ’, रिजालले भन्नुभयो। दैनिक २०/२५ जना ज्येष्ठ नागरिक आउनुहुन्छ, यहाँ आउनलाई कसैलाई रोकावट छैन। जम्मा हुनासाथै भजन गाउने, गफ गर्ने र नाचगान गर्ने गरिन्छ’, उहाँले भन्नुभयो।

राप्ती गाउँपालिकाले पालिकाभित्रका नौ वटै वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरेको पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवन कुमारी जिसीले बताउनुभयो ।

घरभित्रै सीमित हुन पुगेका ज्येष्ठ नागरिकहरु एकै स्थानमा जम्मा भएर दिन बिताउन सजिलो होस् भनेर केन्द्र स्थापना गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

साठी वर्ष नाघेका कुनैपनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभर मन भुलाउन सक्नुहुन्छ। उहाँहरुको बसाई व्यवस्थित गर्न पालिका लागि रहेको छ’, उहाँले भन्नुभयो। 

गाउँपालिकाले दिवासेवा केन्द्रमा भजनकीर्तनका लागि मादल, मुरली, खैजडी, हार्मोनियम,मुजुरालगायत अन्य बाध्यबादनका सामाग्री सहित गुन्द्री,कुर्ची,कुसन, बाकस, विद्युतीय जग,गिलास जस्ता सामग्री उपलब्ध गराएको छ।

बिहान ११ देखि बेलुकी ३ बजेसम्म केन्द्रमा ज्येष्ठ नागरिकले समय बिताउने गर्दछन्।

अहिले मानिसहरू व्यस्त बन्दै गएका छन् । एकातर्फ घरमा युवा पुस्ता नबस्ने गरेकाले गाउँघरका घरहरू वृद्धाश्रमजस्ता भएका छन् ।
अर्कातर्फ नेपालमै रहेका नयाँ पुस्ता पनि आ-आफ्ना काममा व्यस्त छन्, या सहर बजारतिर छन् । घरैमा भएका आफ्ना सन्तान पनि आफूसँग भन्दा सामाजिक सञ्जालमा बढी रमाउने गरेका कतिपय ज्येष्ठ नागरिकको गुनासो हुने गर्दछ । त्यसैले यसरी स्थापना गरिएका नागरिक सेवा केन्द्रहरू जेष्ठ नागरिकका दिन काट्ने रमाउने माध्यम बन्ने गरेका छन् । यी केन्द्रहरू कतिपय ज्येष्ठ नागरिकको समय काट्ने, कतिका पीडा भुलाउने तथा कतिपयलाई मनोरञ्जन लिने स्थान पनि बन्न सफल भएका छन् । विभिन्न पेसा र व्यवसायमा रहेर निवृत्त भएका उहाँहरूका ज्ञान, अनुभव र सीपबाट समाजले पनि धेरै शिक्षा तथा सहयोग लिन सक्छ ।