तुलसीपुर उपमहानगरले माग्यो निजि विद्यालयको शूल्क विवरण

दाङ,१८ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाले निजि विद्यालयबाट शूल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजि विद्यालयको भर्ना शूल्क, मासिक शूल्क,परीक्षा शूल्कको विवरण माग गरेको हो । १४ वैशाखमा शूल्क विवरण माग गरिएकोमा अहिलेसम्म ४२ वटा विद्यालयले विवरण पठाएका छन् ।

उपमहानगरपालिका भित्र ६८ वटा स‍ंस्थागत विद्यालय हुन् । अझै २६ वटा विद्यायले विवरण नबुझाएको प्रमुख भण्डारीले बताए । उनका अनुसार एक हप्ता समय दिएर विवरण माग गरिएको हो । विवरण उपलब्ध नगराउने विद्यालयलाई ग्रेड बृद्धि रोक्ने तथा आईएमएस इन्ट्रि रोकिदिने समेत भण्डारीले बताए ।


पछिल्लो समय निजि विद्यालयहरुले बढि शूल्क लिएको भन्दै अभिभावकहरुले गुनासो पोख्न थालेपछि विवरण माग गरिएको प्रमुख भण्डारीको भनाई छ ।“धेरै अभिभावकले शूल्क बढि भएको विषयमा गुनासो गर्नुभयो”,उनले भने “त्यसपछि हामीले सबैको विवरण माग गरेका छौं, त्यो विवरणका आधारमा एउटा निर्णय गरेर अगाडी बढ्नेछौं ।”

सकेसम्म सबै निजि विद्यालयको शूल्कमा एकरुपता ल्याउने प्रयास गरिने प्रमुख भण्डारीको भनाई छ ।