लुम्बिनीमा भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी

देउखुरी — मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेश सरकारमा गठबन्धन दलबीच भागबन्डा मिलाउन ११ वटा मन्त्रालय बनाइएको छ । मुख्यमन्त्री महराका स्वकीय सचिव भरत नेपालीले आज दिउँदो २ बजे मन्त्रिपरिषद्को बैठक बसेर सात जना विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकिने बताए ।

बैठक बसेर कार्यविभाजन गर्ने गरी मुख्यमन्त्रीले तयारी गरिरहेको उनले बताए ।

मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार दोस्रो चरणमा विनाविभागीय मन्त्रीमा नियुक्त भएकी नेकपा एसकी एक्ली सांसद भगवती अधिकारीलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय दिने तयारी भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यो मन्त्रालय थपिएको हो ।

महराले बिहीबार पहिलो चरणमा ६ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । चैत २२ गतेको सहमति पालना नगरेको भन्दै नेकपा एसकी अधिकारी, जनता समाजवादी पार्टीको बैठक बसेर सरकार ढालिदिने चेतावनी दिएपछि मुख्यमन्त्री महराले दुईघण्टा भित्रमा दोस्रो विज्ञप्ति निकालेर अधिकारीलाई थपेर ७ सदस्यीय विनाविभागीय मन्त्री बनाएका बनाएका थिए ।

मुख्यमन्त्री महराले चैत २२ गतेको ७ बुँदे लिखित सहमति कार्यान्वयन नगरेको भन्दै जसपाबाट कृषि तथा भूमिव्यवस्थामन्त्री भण्डारीलाल अहिरले आइतबार राजीनामा दिएका थिए ।


मुख्यमन्त्री महरा कृषि मन्त्रालय आफुले राख्ने गरी ७ जनाको मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी गरेका छन् ।

महराले एमालेबाट गुल्मी निवासी सांसद दिनेश पन्थी, कपिलवस्तुका सांसद अर्जुन कुमार केसी, रुपन्देहीका सांसद भूमीश्वर ढकाल र बा“केका  रत्नबहादुर खत्री विनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् ।

त्यस्तै नागरिक उन्मुक्ती पार्टीबाट दल नेता बर्दियाका धर्मबहादुर चौधरी र नेकपा एसकी रुपन्देहीकी भगवती अधिकारी र नवलपरासी निवासी सांसद खड्क बस्नेत पनि विनाविभागीय मन्त्री बनेका छन् ।

यसअघि एमालेबाट चेतनारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्रकुमार पुनलाई सरकारको प्रवक्ता तथा स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमी व्यवस्था मन्त्रालयको जिम्मेदारी मुख्यमन्त्रीले तोकेका थिए ।