कतारका राजा आउँदा भोलि सार्वजनिक विदा

काठमाडौं, १० बैशाख ।
सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा भोलि मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने र विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

कतारी राजाको नेपाल भ्रमणमा हुने छैन श्रम सम्झौता पुनरावलोकन
कतारी राजा (अमिर) तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा श्रम सम्झौता पुनरावलोकन गर्ने नेपालको प्रयास सफल नहुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार श्रम सम्झौताका कतिपय विषयमा थप छलफल गरी टुंगोमा पुग्नुपर्ने भएसँगै यसपालि श्रम सम्झौता पुनरावलोकन नहुने भएको हो ।

नेपाल कतारमा सबैभन्दा धेरै श्रमिक आपूर्ति गर्ने देशमध्ये एक हो । मंगलबार नेपाल भ्रमणमा आउने अमिरको भ्रमण सिलसिलामा श्रम मन्त्रालयसँग कुनै सम्झौता हुने सम्भावना कम रहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । ‘हाम्रो चासो श्रम सम्झौता पुनरावलोकनमै हो,’ ती अधिकारीले भने, ‘तर, थप र बृहत् छलफल गर्नुपर्ने भएकाले यसपटक यो टुंगिने सम्भावना रहेन ।’

नेपालका तर्फबाट भने श्रम सम्झौता पुनरावलोकन छिटो टुंग्याउन पहल भइरहेको थियो । अघिल्लो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोरप्रसाद अर्यालले नेपालका लागि कतारका राजदूत मिसाल बि मोहम्मद अली अल अन्सारीसँगको भेटमा द्विपक्षीय श्रम सम्झौता पुनरावलोकनको विषय उठाएका थिए ।


कतार र नेपालबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो । यसलाई समय सापेक्ष बनाउनुपर्ने भन्दै नेपालले प्रयास गरेको भए पनि सफल हुन सकेको छैन ।

‘राष्ट्र प्रमुखको ऐतिहासिक भ्रमणमा सम्झौता पुनरावलोकन गर्न पाएको भए राम्रो हुने थियो,’ ती अधिकारीले भने, ‘तर, यो भ्रमणमा पुनरावलोकन हुने सम्भावना कम भयो ।’ नेपालको सबैभन्दा ठूलो श्रम गन्तव्यमध्ये एक भएका कारण श्रमिकको हित हेरेर सरकारले चासो राख्दै कुराकानी भने हुने बताइएको छ ।

कतारमा अहिले ५ लाखभन्दा बढी नेपालीले काम गरिरहेका छन् । यस वर्षमात्र नौ महिनामा करिब १ लाख २ हजारभन्दा धेरै नेपालीले कतारका लागि नयाँ तथा पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

कतारमा ठूलो संख्यामा नेपाली नागरिक रहेको र उनीहरूको दक्षता अभिवृद्धि गर्नुपर्ने भन्दै नेपालले तालिम केन्द्र स्थापनाको प्रस्ताव कतारसँग गरिरहेको छ । यसबारे अघिल्लो साता श्रममन्त्री र कतारी राजदूतबीचको भेटमा समेत कुरा उठेको थियो । जसमा राजदूतले कतार सरकार सकारात्मक रहेको बताएका थिए ।

कतारसँग श्रम सम्झौतामा नेपालले श्रमिकको सामाजिक सुरक्षा, बीमा, पेसागत सुरक्षाका विषयलाई समेट्न खोजेको छ । नेपालले कतार विश्वकप अगाडि नै श्रम सम्झौता पुनरावलोकनका तयारी गरे पनि सफल भइरहेको छैन । श्रम सम्झौता पुनरावलोकन नहुँदा कतार गएर चरम समस्या बेहोर्दा समेत त्यसको जिम्मेवार कतार सरकारलाई बनाउन सकिएको छैन ।

अर्कातर्फ, कतारको चासो नेपालबाट घरेलु श्रमिक आपूर्तिबारे छ । नेपाल सरकारले भने कतारमा घरेलु श्रमिक लैजान रोक लगाएको छ । कतार सरकारले यो प्रतिबन्ध खुला हुनुपर्ने बताइरहेको छ ।