राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

तुल बहादुर कवँर मगर
भालुबाङ, ३० कार्तिक ।
दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। गाउँपालिकाको वडा नं.१ हनुमानगढी मन्दिर चोक भालुबाङमा सो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।

राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही, सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धीत सेवा प्रदायक र सेवाग्राहीहरु बिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

सो अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ,विद्युत,सुशासन लगायत गाउँपालिका र मातहतका कार्यालय बाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।

सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चौैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा अध्यक्षहरु र विभिन्न शाखाका शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो ।


सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समृद्धि, विकास र नागरिकहरुको सेवामा गाउँपालिका निरन्तर लागि रहेको बताउनुभयो ।

‘काम गर्दा ढिलो चाँडो हुन्छ नै तर राप्तीवासीको सेवामा हामी निरन्तर लागि रहेका छौं’– अध्यक्ष विष्टले भन्नुभयो– ‘राप्तीवासीको रचनात्मक सल्लाह, सुझाव र खबरदारी पनि निरन्तर भइरहोस् ।’

उक्त कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पहलवान चौधरी, १ का वडा अध्यक्ष गेम बहादुर खड्का,२ का अध्यक्ष उमेश अधिकारी, कार्यपालिका सदस्य,अन्य जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख ,विभिन्न संघसंस्थाका प्रमुख, टोल विकास संस्थाका पदाधिकारी,संचारकर्मी लगायत स्थानीयबासीहरूको सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष कुमार गुप्ताले गर्नु भएको थियो। स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक त्रैमासिक रूपमा गर्दै आइरहेको छ।