राप्ती गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

तुल बहादुर कवँर मगर
देउखुरी, १५ चैत ।
दाङ देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिवार सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नं‍‍.९ रुपाकोटमा कार्यक्रम आयोजना गरिएको थियो ।

राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही , सेवा प्रवाह, योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले बताउनुभयो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीले दोस्रो चौमासिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगति प्रस्तुत गर्नु भएको थियो।कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ,विद्युत लगायत विकासका पूर्वाधारहरू, पर्यटकीय क्षेत्रको प्रवर्द्धन, संरक्षण र विकास, सुशासन लगायत गाउँपालिका र मातहतका कार्यालय बाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।


सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा अध्यक्षहरु तथा विभिन्न शाखाका शाखा प्रमुखहरूले जवाफ दिनु भएको थियोे।

उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख ,विभिन्न संघसंस्थाका प्रमुख, शिक्षक,विद्यार्थी, टोल विकास संस्थाका अध्यक्ष,उपभोक्ता समितिका पदाधिकारी,संचारकर्मी लगायत स्थानीयबासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार ओम प्रकाश गुप्ताले गर्नु भएकोे थियो। स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक चौमासिक रूपमा गर्दै आइरहेको छ।