मृगौलाको स्वास्थ्य र उपचार: जानकारी र सचेतना [विशेषज्ञ संवाद]

टेकराज भण्डारी
विश्वमा कुल जनसङ्ख्याको १० प्रतिशत नागरिक मिर्गौला रोगबाट पीडित रहेको तथ्याङ्क छ। बिहीबार १४ मार्च अर्थात विश्व मृगौला दिवस परेकाले यस सम्बन्धमा हामीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका डा. सन्देश लम्सालसँग मिर्गौलाको स्वास्थ्य तथा किडनी फेलर लगायतका विषयमा कुराकानी गरेका थियौं ।

मृगौला कुन किसिमको अंग हो र हाम्रो शरीरमा मिर्गौलाले गर्ने प्रमुख कार्यहरु के के हुन्?
डा. सन्देश लम्साल: मृगौला करिब ४-५ इन्च लामो अथवा एउटा ठूलो मुट्ठी जत्रो सिमीको आकारको मानव शरीरको एक अभिन्न अङ्ग हो। यो मेरुदण्डको दुवैपट्टि हुन्छ। मृगौलाले रगत छान्ने, तापमान नियन्त्रण गर्ने सहि मात्रामा इलेक्ट्रोलाइट्स कायम राख्ने, शरिरमा झोलिलो पदार्थको मात्रा नियन्त्रन गर्ने, र शरिरलाई नचाहिने पदार्थहरू पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ।

मृगौला रोगीहरुमा कस्ता-कस्ता लक्षणहरु देखिन्छन्?
डा. सन्देश लम्साल: मृगौला रोगीहरुमा पेट दुख्ने, ढाड दुख्ने,पखाला लाग्ने, ज्वरो आउने, नाकबाट रगत बग्ने, बान्ता आउने आदिजस्ता लक्षणहरु देखिन्छन्।

कस्तो अवस्थामा मृगौला फेल हुन्छ ? यसका कारणहरू के-के हुन्?
डा. सन्देश लम्साल: मृगौलाको फिल्टरिंग क्षमता गुमेपछि तरल पदार्थ र फोहोरको हानिकारक स्तरहरू शरीरमा सङ्कलन हुने गर्दछ, जसले रक्तचापलाई बढाउँछ र जब यो अवस्था ९०% भन्दा बढी पुग्छ अनि त्यसले किडनी फेलर को रुप लिन सक्छ। मृगौलामा रगत पुगेन भने मृगौलाको केहि भाग अथवा सिंगै मृगौलाले काम गर्न छोड्छ जसलाई मृगौला रोगको अन्तिम चरण मानिन्छ। डाइबिटिज, आनुवंशिक, धेरै मात्रामा कडा औषधिहरू सेवन गरेमा, नेफ्रोटिक सिन्ड्रोम आदि कारणहरूले मृगौला फेल हुने गर्दछ।

एक्यूट रीनल फेलियर भन्नाले के बुझिन्छ र के कारणले यो हुन सक्छ?
डा. सन्देश लम्साल: मृगौलाले अचानक काम गर्न छोडेको अवस्थालाई एक्युट रेनल फेलर अथवा एक्युट किड्नी इन्जरि भनिन्छ। यो अस्थाइ हुन्छ र उपचारपछि फेरि मृगौला स्वस्थ हुन सक्छ। हृदयघात, लागूपदार्थको प्रयोग, मूत्रमार्गको समस्या, मिर्गौलामा पर्याप्त रगत नबग्नु आदि यसका कारणहरू।


बिहीबार १४ मार्च अर्थात विश्व मृगौला दिवस हो। यो दिन किन महत्वपूर्ण मानिन्छ?
डा. सन्देश लम्साल: विश्व मृगौला दिवसको दिनमा मृगौला स्वास्थ्य तथा मृगौला रोगको बारेमा विश्वभरि छलफल हुने र समाजमा मृगौला रोगको बारेमा चेतना फैलाउने कार्यक्रमहरु हुनुका साथै मृगौला रोगको उन्मूलनका लागि समन्वय गरिने कारणले यो दिन निकै महत्वपूर्ण मानिन्छ।

मृगौलालाई स्वस्थ राख्नका लागि केहि सुझाव दिनुहुन्छ?
डा. सन्देश लम्साल: मृगौलालाई स्वस्थ राख्नका लागि बिशेष ध्यान दिनुपर्छ। पानी पर्याप्त मात्रामा पिउने, जाड रक्सी र धुम्रपान सेवन नगर्ने, स्वस्थ आहार खाने र नियमित व्यायाम गर्ने गर्नुपर्छ। साथै माथि भनिएका लक्षणहरू देखा परेमा तुरून्तै चिकित्सकको परामर्श लिनुपर्छ।

धुम्रपान र मृगौला रोगको बीचमा सम्बन्ध कस्तो छ?
डा. सन्देश लम्साल: धुम्रपानले मृगौलालाई धेरै किसिमले हानि पुर्‍याउन सक्छ। यसले केही मृगौला क्यान्सरहरू विकास गर्ने जोखिम बढाउन सक्छ। साथै धुम्रपानले हृदय र रक्त नलीहरूलाई क्षति पुर्‍याउँछ जसले गर्दा मृगौलामा रगतको प्रवाह कम हुन जान्छ र समयसँगै मृगौलालाई क्षति पुग्छ।

डायलिसिस र मृगौला प्रत्यारोपणको बीचमा कुन राम्रो छ, र किन?
डा. सन्देश लम्साल: चिकित्सा क्षेत्रमा डायलिसिस र मृगौला प्रत्यारोपण दुबै उपचारका लागि वैकल्पिक रुपमा उपलब्ध छन्। डायलिसिसले मृगौला रोगीहरूलाई तत्काल राहत प्रदान गर्दछ, भने मृगौला प्रत्यारोपणलाई दिर्घकालिन समाधानको रुपमा लिइन्छ। प्रत्यारोपणले डायलिसिस भन्दा उत्कृष्ट परिणाम प्रदान गर्दछ।

मृगौला दान गर्ने वा मृगौला प्राप्त गर्ने विषयमा तपाईंको विचार के छ?
डा. सन्देश लम्साल: मृगौला प्रत्यारोपण मृगौला फेलियर भएका बिरामीको लागि निकै राम्रो विकल्प हो। तर प्रत्यारोपण गर्नका लागि दिने र लिने दुवैको महत्वपूर्ण भुमिका रहन्छ। यसमा आउने जटिलताको पनि ज्ञान हुनु आवश्यक छ। कुनै पनि सर्जरीमा आउने जटिलताका साथै प्रत्यारोपण अश्विकार हुने सम्भावनालाई पनि बेवास्ता गर्नु हुदैन।