दाङका पछिल्ला तीन सीडीओ : जो ४ महिना भन्दा बढि टिक्न सकेनन्

दाङ
१७ कात्तिक / दाङका पछिल्ला तीन सीडीओ ४ महिना भन्दा बढि टिक्न सकेनन् । भर्खरै मात्रै दाङका प्रमुख जिल्ला अधिकारी(उपसचिब) राबमहादुर कुरुम्बाङको गृहमन्त्रालयमा सरुवा भएको छ । उनले आफू सरुवा भएको बताए । उनी गएको असारमा मात्रै दाङको सीडीओको रुपमा आएका थिए । सुरुवातीमै पहुँचका भरमा दाङ आएको भनि उनमा ‘ट्याग’ लागेको थियो ।

उनी भन्दा अघि दाङको सीडीओको रुपमा रहेको दीर्घनारायण पौडेल पनि चार महिना मात्रै दाङमा टिकेका थिए । गएको बर्ष फागुनमा दाङको प्रमुख जिल्ला अधिकारी सम्हाल्न आएका उनको गृहमन्त्रालयमा सरुवा गरिएको थियो । त्यो भन्दा अघिल्लो पटकका सीडिओ पनि चार महिनामै सरुवा भएका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको चार महिनामै सरुवा भएको थियो ।

२०७७ कात्तिकमा आएका आचार्यको फागुनमा सरुवा भएको थियो । तीनैजना सीडीओको सरुवा भने किन भएको भन्ने विषय भने गोप्य नै हुन्छ । यसरी चार महिना पनि सीडीओ नटिक्दा नागरिकहरुमा संका उत्पन्न हुने गरेको छ । अन्य जिल्लामा उदाहरणीय काम गरेपनि दाङमा त्यो क्षमता देखाउन नसकेको अबस्था छ ।गएको बर्ष कात्तिकदेखि यस बर्ष कात्तिकसम्म (एकबर्ष) मा तीन जना सीडियो फेरिनु दाङका लागि राम्रो कुरा नभएको नागरिकहरुले बताउने गरेका छन् ।‘दाङमा आउने र अलिकति यहाँको परिबेशमा घुल्न नपाउँदै सरुवा हुने अबस्था हुन्छ’, नाम नबताउने सर्तमा एक नागरिकले भने‘ यसरी एक बर्ष वित्दा जिल्लाकालागि खास प्रगति हुन सकेको छैन, यहाँको टड्कारो भनेको अबैद्य क्रसर उद्योगहरुलाई नियमन र उत्खनन् नै हो, यसले पनि सीडीओको सरुवाकालागि भूमिका खेलेको हुनसक्छ ।’

कानुन विपरितका क्रसर उद्योगको काम अघि बढेन
दाङका १० वटा क्रसर उद्योगले बालुवा वासिङ गर्ने मात्रै अनुमति लिएका छन् । तर, उनीहरुले क्रसर उद्योगको काम गर्दै आएका छन् । ति क्रसर उद्योगलाई बन्द गर्न भनि २०७८ जेठ ९ गते नै तत्कालिन सीडीओ जयनारायण आचार्यले सूचना जारी गरेका थिए । तर, त्यो प्रक्रिया अघि बढ्न सकेको छैन । अहिलेका सीडीओबाट यसको समाधानको अपेक्षा थियो । तर, त्यो पूरा हुन सकेन ।


दाङमा कुरुम्वाङको सुरुवात
उनी आउँदा दाङले धेरै अपेक्षा गरेको थियो । दाङमा अबैद्य रुपमा चलेका क्रसर उद्योगहरुलाई नियमन गर्ने यहाँ धेरै अपेक्षा गरिएको थियो । किनकी उनले बाँकेमा क्रसर तथा अबैद्य उत्खनन्लाई नियमन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर, दाङमा यो अपेक्षा पूरा हुन सकेन् । उनी आउँदा दाङमा उत्खनन् बन्द भइसकको थियो र अहिले उत्खनन् खोल्न सुरु भए लगतै उनी सरुवा भए । स्रोतका अनुसार यसमा विवादित हुने देखिएपछि आफैले सरुवा मागेर गएका हुन् । उनको ठाउँमा सहसचिब हिरालाल रेग्मी आएका छन् ।

कुरुम्बाङ आउदा नै चर्चित बनेका थिए । उनले चार महिनामा पनि केही उदाहरणी काम भने गरेका छन् । जनप्रतिनिधिले खेल्ने भूमिका कुरुम्बाङले खेले । यो भूमिकाको भने चौतर्फी रुपमा प्रशंसा हुने गरेको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पत्रेखोलामा आवतजावत सहज बनाउनकालागि उनको भूमिका रह्यो । पत्रेखोला पुल निर्माणको काम अघि बढेको छ, यसमा पनि उनको भूमिका छ । चारलेन निर्माणको सुरुवातमा उनको भूमिका छ । तर, काम अघि बढ्न सकेन ।

अन्य ढिला सुस्त भएका विकास निर्माणमा उनले चासो देखाएका थिए । बाढी होस्, या सडक भत्किएको किन नहोस्, जनप्रतिनिधि भन्दा उनी नै पहिले पुग्ने गर्थे र, तत्काल समाधानको बाटो खोज्थे । यो भने जिल्लाकालागि प्रशंसनीय र सिकाईको विषय बनेको छ । उनको भूमिकाले जनप्रतिनिधिहरु ओझेलमा परे । साभार : अग्रिम साप्ताहिक