गोरखा मोडेल कलेज तुलसीपुरद्धारा दुई दिने अभिमुखीकरण कार्यक्रम

तुलसीपुर, १३ फागुन ।
गोरखा मोडेल कलेज तुलसीपुरले दशौँ ब्याच अन्तर्गत बिबिएस प्रथम वर्षका विद्यार्थीहरूलाई दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विद्यार्थीहरुलाई लगिएको थियो। बसाइ थियो श्रीलंकन मुनास्टिकमा ।

जीवनलाई सकारात्मक मार्ग प्रदान गर्ने र सफल बन्ने उद्देश्यले विद्यार्थीहरुलाई सो कार्यक्रममा उपस्थित गराइएको थियो। सो स्थानमा शुक्रबार साँझ सन्ध्याकालीन प्रवचनको कक्षाको सुरुवात गर्दै उत्प्रेरणाकर्ता रविन्द्र बस्नेतले विद्यार्थीहरू पवित्र भूमिमा आएको र यो भूमिमा आफ्नो मनलाई शान्त बनाउन र सिकेका कुरालाई व्यवहारमा उतार्न सके जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ भनि विद्यार्थीलाई उत्प्रेरित गरेका थिए।

हुन त विद्यालयको कक्षा लिएकै जस्तो थियो तर ठाउँ फरक थियो। यस स्थानले गर्दा विद्यार्थीहरूमा पनि शान्तिको सन्देश प्रभाव भएको उनीहरूको मुहारले प्रष्ट पारिरहेको थियो। हामी विद्यार्थीहरूको किताब विज्ञान मात्रै भन्दा पनि व्यावहारिक तथा उत्प्रेरणामूलक ज्ञान दिँदै आएका छौं। यसै सन्दर्भमा यस वर्ष पनि विद्यार्थीहरुलाई पवित्र स्थल लुम्बिनीमा ल्याएका छौं यसले विद्यार्थीहरुमा थप उर्जा सहित सकारात्मक सन्देश प्रवाह गर्न ठूलो सहयोग हुने क्याम्पस प्रमुख पूर्ण विक्रम डाँगीको भनाइ रहेको छ । योग गुरु रविन्द्र बस्नेतले विद्यार्थीलाई योगा र ध्यानको माध्यमबाट विद्यार्थी स्वस्थ रही सही मार्गमा हिँडेर मेहनत गरेर भविष्यमा राम्रो बन्न सकिने उहाँको भनाइ रहेको छ।


अभिमुखीकरण कार्यक्रमलाई स्वागत गर्दै गोरखा ग्रुप दाङका एकाडेमिक डाइरेक्टर दुर्गाबहादुर केसीले आगामी दिनमा विद्यार्थीहरूको व्यावहारिक शिक्षालाई मुख्य केन्द्र बनाई सिपयुक्त र बजारमा टिक्न र बिक्न सक्ने जनसङ्ख्या जनशक्ति तयार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरी अगाडि बढ्ने योजना रहेको उहाँको भनाइ रहेको छ।

सो कार्यक्रममा प्रतिवेदन लेखन कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ सो विषयमा नेपाल पत्रकार महासङ्घ जिल्ला अध्यक्ष दुर्गालाल केसी ,सञ्चार सिप अभिवृद्धि सम्बन्धी विषयमा मेट्रो कलेज तुलसीपुरका क्याम्पस प्रमुख बसन्त आचार्य , विद्यार्थीहरूमा नेतृत्वसिप अभिवृद्धि सम्बन्धी लाइफ एजुकेसनका सिइओ दिनेश खड्का, लुम्बिनीको महत्त्व र गौतम बुद्धको योगदानबारे लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक आचार्य दयानिधिले विद्यार्थीहरू माझ प्रभावकारी सेसन सञ्चालन गरेका थिए।

यस कार्यक्रमबाट जीवनमा केही सिक्ने र सिकेका कुरा व्यवहारमा लागू गरी अगाडि बढ्ने समेत विद्यार्थीहरूको भनाई रहेको छ।